कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र सभाध्यक्षसहित लेखक रिजालले संयुक्तरुपमा पुस्तक अनावरण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–४, भैरवरोडस्थित साहित्य संगम मकवानपुरको सभाहलमा हाँस्यव्यङ्ग्यकार आरसी रिजालको कृति सार्वजनिक गरिएको छ । साहित्यकार विवश पोखरेलको प्रमुख आतिथ्यता रिजालको हास्यव्यङ्ग्य निबन्ध संग्रह ‘को वरिष्ठ’को सार्वजनिकीकरण तथा परिचर्चा गरिएको हो ।

साहित्य संगम मकवानपुरका अध्यक्ष निमेश निखिलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र सभाध्यक्षसहित लेखक रिजालले संयुक्तरुपमा पुस्तक अनावरण गर्नुभएको छ ।

कार्यक्रममा व्यङ्ग्यकार राजकुमार लामिछानेले सार्वजनिक गरिएको रिजालको कृति सामाजिक सन्देशमूल रहेको बताउनुभयो । समाजको बेथिति र विसङ्गतिमाथि ‘को वरिष्ठ’ले बेजोडरुपमा प्रहार गर्ने र पाठकले सजिलै बुझ्न सकिने भाषाको प्रयोग गरिएको लामिछानेको भनाई थियो ।

कार्यक्रममा उपस्थित साहित्यप्रेमीहरु ।

साहित्यकार निरा शर्माले हास्यव्यङ्ग्यमार्फत् कथात्मक शैलीमा निबन्धको माध्यबाट कृति लेखिएको बताउनुभयो । राजनितिको घटना, सामाजिक घटना र व्यक्तिहरुको प्रत्यक्षरुपमा आलोचना गर्न नसकिने स्थितिमा व्यङ्ग्य लेखनले साहित्यको माध्यमबाट उजगार गर्न सहयोग पुर्‍याएको शर्माले बताउनुभयो ।

११० पृष्ठ रहेको कृतिमा कथात्मक सामूहिक चेत, लघुकथाजस्ता विषयवस्तुले व्यक्तिको धारणमा परिवर्तन ल्याउने बताइएको छ । नेपाल परनिर्भर बनेको अवस्थामा नेपालमै युवाले परिश्रम गरी जीविकोपार्जन साथै सरकारले युवाको संरक्षण गर्न सक्छ भन्ने विषय सार्वजनिक कृतिमा समावेश गरिएको छ । कृतिमा आमाको बिलौना, राजनीतिक विसङ्गति, मानवीय समवेदना हराएको र धर्मशास्त्रलगायत विषयलाई कथात्मक शैलीमा निबन्धको माध्यममार्फत् उखान–टुक्का प्रयोग गरिएको छ ।

सार्वजनिक कृतिमाथि साहित्यकार सुवास खनालले समीक्षा गर्नुभएको थियो । उहाँले पाठकीय टिप्पणीका रुपमा मात्र आफ्नो टिप्पणी रहेको बताउनुभयो । उहाँले हास्यव्यङ्ग्यकार रिजाल आफ्नै शैली र गतिमा हिँड्ने व्यक्ति भएको जानकारी दिनुभयो ।

आँचल साहित्य कला पुञ्चका अध्यक्ष अनिता न्योपानेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा विशिष्ट अतिथि उच्च अदालत पाटन, हेटौंडा इजलासका न्यायाधीश शेषराज शिवकोटी, साहित्यकार धनराज गिरीलगायत साहित्यकारहरुको उपस्थिति रहेको थियो ।