हेटौंडा–१२, पदमपोखरीको गोठदमारमा रहेको पञ्चकन्या प्राथमिक विद्यालय ।

हेटौंडाः हेटौंडा–१२, पदमपोखरीको गोठदमारमा रहेको पञ्चकन्या प्राथमिक विद्यालय मर्ज भएको छ । कक्षा ४ सम्म पढाई भइरहेको विद्यालयका विद्यार्थीलाई नजिकैको बुद्ध माविमा पठाइएपछि विद्यालयको भौतिक संरचना अलपत्र परेको हो ।

२०५५ सालमा स्थापना भएको विद्यालयमा विद्यार्थी संख्या न्यून भएको भन्दै मर्ज भएपछि विद्यालयका शिक्षकहरुले गुनासो गरेका छन् । कक्षा २ सम्मका विद्यार्थीलाई विद्यालयमै पठनपाठन गराउन माग गरिए पनि सुनुवाई नभएको विद्यालयका प्रधानाध्यापक राजकुमार थिङले जानकारी दिनुभयो । विद्यालयमा अहिले शिक्षक पर्वती लामाको नेतृत्वमा इसीडी कक्षामात्र सञ्चालन भइरहेको छ । इसीडीमा १५ जना विद्यार्थी रहेको शिक्षक लामाले बताउनुभयो ।

विद्यालयलाई मर्ज हुनबाट जोगाउन अभिभावक र सरोकारवालाबीच छलफल चलाउन चाहेपनि अभिभावकले चासो नदिएको शिक्षक लामाले गुनासो गर्नुभयो । निजी विद्यालयप्रति अभिभावकको आकर्षण बढ्दै गएको र विद्यालय सञ्चालनमा चासो नदिएका कारण विद्यालय मर्ज गर्नुपरेको उहाँले बताउनुभयो । ‘हरेक दिन निजी विद्यालयका बस विद्यार्थी लिन विद्यालय आसपासमै जान्छन्’, शिक्षक लामाले भन्नुभयो– ‘अभिभावक तथा विद्यार्थी निजी विद्यालयप्रति आकर्षित हुँदा सामुदायिक विद्यालय बन्द हुन पुग्यो ।’

सरोकारवाला निकाय, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र विद्यार्थीहरुबीच विद्यालयको पहिचान र शिक्षाको महतव बुझ्न नसक्दा अहिले विद्यालयको संरचना प्रयोगिविहीन बनेको शिक्षक लामाले जानकारी दिनुभयो । अभिभावकले चासो दिएको भए विद्यालय मर्ज गर्नुपर्ने अवस्थाबाट बचाउन सकिने भन्नुहुँदै उहाँले विद्यालयलार्य पहिलाकै अवस्थामा ल्याउन सबै निकायले पहल गर्न आग्रह गर्नुभयो ।