अध्यक्ष कप फुटबलको उपाधि साथ ३ नम्बर वडाका खेलाडीहरु ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा आयोजना गरिएको बकैया कप फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ३ हात्तिसुँडेले जितेको छ । बकैया–४, जुरेलीमा बिहीबार भएको फाइनल खेलमा वडा नम्बर ५ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै वडा नम्बर ३ हात्तिसुँडेले उपाधी जितेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच वडा ३ का गोलरक्षक विक्रम नेगी घोषित भए । विजेता बनेसँगै वडा नम्बर ३ ले १ लाख रुपैयाँ हात पारेको छ । उपविजेता बनेको वडा नम्बर ५ भने ५० हजार रुपैयाँमै चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी र बढी गोलकर्ता वडा नम्बर ५ का नवराज घलान, उत्कृष्ट गोलरक्षक वडा नम्बर ३ का विक्रम नेगी, उत्कृष्ट डिफेन्डर वडा नम्बर ३ का विकास वाईबा र उत्कृष्ट मिडफिल्डर वडा नम्बर ३ का छेवाङ भोम्जन घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

बकैया खेलकुद विकास समितिको आयोजनामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा बकैया गाउँपालिकाका १२ वटै वडाको सहभागिता रहेको थियो । प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य माधव तिमल्सिना, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा र बकैया गाउँपालिकाका उपाध्यक्ष सरला बोलखेलगायतको उपस्थित रहेको थियो ।