प्याव्सन मकवानपुरले मंगलबार जारी गरेको विज्ञप्ति ।

हेटौंडाः वातावरण प्रदुषणको कारण देखाउँदै सरकारले मंगलबारदेखि ४ दिनका लागि देशभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरे पनि मकवानपुरका केही शैक्षिक संस्था भने बुधबारदेखि खुल्ने भएका छन् ।

मंगलबार मौसम केही खुल्दै गएको उल्लेख गर्दै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुर जिल्ला समिति र हेटौंडा उपमहानगर समितिले संयुक्त विज्ञप्ति जारी गर्दै प्याव्सनमा आवद्ध सवै शैक्षिक संस्था सुचारु हुने जनाएको छ ।

प्याव्सन मकवानपुर जिल्ला समितिका कार्यवाहक अध्यक्ष बिनोद सुवेदी र हेटौंडा उपमहानगर समिति अध्यक्ष राजकुमार नहर्कीद्वारा संयुक्त रुपमा मंगलबार जारी विज्ञप्तिमा मौसममा सुधार देखिएकोले बुधबारबाट पठनपाठन सुचारु गर्न लागेको उल्लेख गरिएको छ । यस्तै हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजेमन्ट र आधुनिक राष्ट्रिय माविले पनि पठनपाठन सुचारु गर्ने जनाएको छ ।

वातावरण प्रदुषित हुँदा प्रदुषण नियन्त्रण गर्न भन्दा पनि विद्यालय बन्द गर्ने सरकारको निर्णय गलत भएको भन्दै आलोचना भइरहेका बेला मकवानपुरका केही शैक्षिक संस्था भने स्थानीय सरकारसँगको समन्वयमा सुचारु हुने भएको हो ।