फाइल फोटो

हेटौंडाः बागमती प्रदेश सभाको सभामुख सानुकुमार श्रेष्ठले प्रदेशको पुरा बजेट खर्च नभएको प्रति गुनासो व्यक्त गर्नुभएको छ ।

मंगलबार हेटौंडामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख श्रेष्ठले समय हुँदा सुतेर बस्ने, असारमा वर्षा सुरु भएपछि काम सुरु गर्ने परिपाटीले बजेट खर्च हुन नसकेको बताउनुभएको हो । असारमा अर्को वर्षको बजेट सार्वजनिक गनुपर्ने समयमा हतारमा बजेट खर्च गर्ने संस्कारले चिन्तित बनेको बताउँदै उहाँले भन्नुभयोे, ‘प्रदेश सरकारले योजना छनौट गरेर ल्याएको बजेट कार्यान्वयन गरेर खर्च गर्न समस्या देखियो ।’ समय छँदै काम गरे बजेट खर्च हुने उहाँको तर्क थियो ।

सभामुख श्रेष्ठले संघीयतामा जनप्रतिनिधिहरु आएपछि विकास निर्माणको गति दु्रत भएको बताउनुभयो । उहाँले प्रदेशमा आधा बजेट खर्च हुँदा त विकासको गति दु्रत देखियो भने पुरा बजेट खर्च हुँदा विकास कति देखिन्छ भनेर सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बागमती प्रदेशमा दक्ष जनशक्तिको अभाव, काममा लापरबाही तथा नतिजा उन्मूख भएर कार्य नहुँदा बजेट खर्च हुन नसकेको उहाँले आरोप लगाउनुभयको छ । बागमती प्रदेशको ११९ स्थानीय तहहरुलाई बजेट कार्यान्वयन गर्दा देखिएका समस्याहरु उजागर हुने गरी अध्ययन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

चालू वर्षको फागुन सम्म बागमती प्रदेशको सात वटा मन्त्रालयले ३० प्रतिभन्दा कम बजेट खर्च गरेका छन् । चालू वर्षको फागुनसम्म बागमती प्रदेश सरकारले कुल बजेट ५१ अर्ब ४ करोड ७४ लाखको २५.३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।