प्रगति माविको २१ औं अभिभावक भेलाको उद्घाटन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः हेटौंडा–९ स्थित प्रगति माविको व्यवस्थापन समितिमा ४ जना सदस्य चयनका लागि सुरु गरिएको निर्वाचन कार्यक्रममा २६ जनाको उम्मेद्वारी परेको छ । शनिबार भएको अभिभावक भेलापछि सुरु गरिएको निर्वाचन प्रक्रियामा १० जना महिला र १६ जना पुरुषले उम्मेद्वारी दर्ता गराएका छन् ।

विद्यालय व्यवस्थापन समिति गठनका लागि अभिभावक मध्येबाट दुईजना महिलासहित ४ जना सदस्य चयन गर्नुपर्ने व्यवस्था छ । व्यवस्थापन समितिमा रहेर काम गर्न आकांक्षी बढी भएपछि विद्यालयले सहमतिको प्रयास गरिरहेको विद्यालयका सहायक प्रधानाध्यापक किशोर पराजुलीले जानकारी दिनुभएको छ । विद्यालयले यही साता व्यवस्थापन समिति गठन गर्ने गरी आकांक्षी २६ जनालाई नै बुधबार छलफलका लागि बोलाएको सहायक प्रधानाध्यापक पराजुलीले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिको सदस्यका लागि प्रदीप पराजुली, सुरेश मिजार, दीपक विडारी, नारायण थपलिया, ज्ञानेन्द्र ढुंगाना, अच्युत कट्टेल, ओमप्रकाश बाबु मल्ल, दुर्गाबहादुर स्याङ्तान, रामशरण घिमिरे, भिष्मप्रसाद चौलागाई, मुरलीप्रसाद लामिछाने, भीमप्रसाद पहाडी, शिवराम मिश्र, बलराम मिजार, नरेश महर्जन र ईन्द्रप्रसाद अधिकारीले उम्मेद्वारी दिएका छन् । यस्तै महिलातर्फ यमकुमारी परियार, सजनी अर्याल, नारायणी पराजुली, सीता केसी, ललिता कार्की, उमा आचार्य, लिला थापा, रिता कुँवर, रमा न्यौपाने लामिछाने र गीता पाण्डेले उम्मेद्वारी दिएका छन् ।

अभिभावकमध्येबाट २ जना महिलासहित ४ जना निर्वाचित गरेपछि एकजना महिलासहित दुईजनालाई मनोनित गरिनेछ । मनोनित हुने दुईजनामा चन्दादाता तथा शिक्षासेवी हुनुपर्नेछ । यसैगरी शिक्षक प्रतिनिधि र वडा प्रतिनिधि समेत निश्चित भएपछि विद्यालय व्यवस्थापन समितिका सदस्यमध्येबाट एकजना अध्यक्ष चयन गरिनेछ ।

कक्षा १२ सम्म पठनपाठन हुने प्रगति माविमा एक हजार एक सय ५० विद्यार्थी अध्ययनर छन् । कक्षा ६ सम्म पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन हुने प्रगति माविमा ७ कक्षादेखि १२ कक्षासम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन भइरहेको छ । शनिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा अभिभावक भेलाको उद्घाटन तथा शैक्षिक भवनको उद्घाटन कार्यक्रम भएको थियो । अभिभावक भेलाको अवसरमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, पूर्वप्रधानाध्यापकका साथै कार्यरत शिक्षक, कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।