हेटौंडाः सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विघटन गरेपछि नेकपा (माओवादी केन्द्र) मकवापुरको पहिलोपटक बैठक बसेको छ । बैठकले पार्टीको मकवानपुरको १० वटै स्थानीय तहका कमिटीको बैठकहरू चैत १९ गतेदेखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

जसअनुसार हेटौंडा उपमहानगरपालिकाको चैत १९ गते, राक्सिराङ गाउँपालिकाको चैत २० गते, बकैया गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकाको चैत २१ गते, मकवानपुरगढी गाउँपालिकाको चैत २३ गते, बागमती गाउँपालिकाको चैत २४ गते, भिमफेदी गाउँपालिकाको चैत २५ गते, कैलाश गाउँपालिकाको चैत २६ गते र थाहा नगरपालिकाको चैत २८ गते हुने भएको छ ।

त्यस्तै, जिल्लाको सबै वडाको बैठक बसी माओवादी पार्टीको बोर्डसहित कार्यालय स्थापना गर्ने निर्णय पनि गरेको जिल्ला नेता तथा प्रचार विभाग प्रमुख कमानसिं पाख्रिनले जानकारी दिनुभएको छ । उहाँका अनुसार पार्टीबाट निर्वाचित स्थानीय र प्रदेश जनप्रतिनिधिको भेला चैत २८ गते तोकिएको छ । साथै, पार्टीको जनवर्गीय मोर्चाहरूको चैत मसान्तसम्म बैठक बसी बैशाख मसान्तसम्ममा भेला, सम्मेलनहरू गर्ने निर्णय पनि भएको बताइएको छ । पार्टीलाई सुदृढ, क्रान्तिकारी, बलियो बनाउँदै समाजवादी लक्ष्य हासिल गर्न पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्ला कमिटिले निर्णय गरेको हो ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् बागमति प्रदेश अध्यक्ष नारायण दाहालको प्रमुख आतिथ्य तथा केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज कुमारी मोक्तानको विशेष आतिथ्य रहेको थियो । पार्टीका मकवानपुर अध्यक्ष प्रेमबहादुर पुलामीको अध्यक्षतामा भएको बैठकमा प्रदेश कमिटी सदस्यहरु बिष्णु बिष्ट, ओम घलान, सर्केश घलान, वीरबहादुर घलान, ललित घलान लगायतको सहभागिता रहेको थियो ।