हेटौंडाः प्रेस संगठन मकवानपुरले मकवानपुरमा क्रियाशील युवा पत्रकार र अग्रज पत्रकार गरी १९ जनालाई एकसाथ सम्मान गरेको छ । शनिबार बिहान अग्रज पत्रकारलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो भने युवा पत्रकारलाई नगद पाँच हजार रुपैयाँसहित क्रियाशील पत्रकारिता प्रदान गरिएको छ ।
अग्रज पत्रकारको रुपमा आरसी रिजाल, प्रताप विष्ट, कौशल पाण्डे, लोकनाथ पाण्डे, नवराज शर्मा, कृष्णराम परियार, महेन्द्र श्रेष्ठ, मोहनमान सांगामी, कमलचन्द्र सुमन, सुवर्णलाल श्रेष्ठ, राममणि दाहाल, भानुभक्त आचार्य, नामीमैया कार्कीलाई दोसल्ला ओढाएर अग्रज पत्रकारको रुपमा सम्मान गरेको छ । यस्तै क्रियाशील पत्रकारको रुपमा शुभलक्ष्मी बिश्वकर्मा, सरला अधिकारी, शिवप्रसाद चौलागाई र गणेश दर्पण अधिकारीलाई नगद पाँच हजार रुपैयाँसहित सम्मान गरिएको हो ।
यसैगरी प्रेस संगठनले रुद्र–सेन स्मृति पत्रकारिता पुरस्कारबाट सुनिल खड्का र नानीमैया विष्टलाई जनही पाँच हजार रुपैयाँ राशीसहित पुरस्कृत गरेको छ । संगठनले व्यवसायी सरोज खनाल र शहीद परिवारका सदस्य मानकुमारी पाख्रिनलाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।
प्रेस संगठन मकवानपुरकी संयोजक अञ्जली थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टरका पूर्व केन्द्रीय उपाध्यक्ष बलराम थापाले समाजलाई अग्रगमन र रुपान्तरण गर्न, हेपिएका र दविएकाहरुको आवाज पत्रकारले बोल्नुपर्नेमा जोड दिनुभयो । आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा उम्मेदवार बन्नेहरुको होडमा विकृति, एजेन्डाविहिनता र अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै थापाले चिन्ता व्यक्त गर्नुभयो ।
पत्रकारमा आलोचनात्मक चेत हुनुपर्ने उल्लेख गर्नुहुँदै मूलधारको राजनीतिमा दलालीकरण बढेसँगै पत्रकारमा आलोचनात्मक चेत कमजोर हुँदै गएको थापाले औँल्याउनुभयो । महासंघको आसन्न निर्वाचनलाई नै लक्षित गर्दै थापाले भन्नुभयो, ‘राजनीतिक विकृतिकै कारण निष्ठावान पत्रकार महासंघको उम्मेदवार नै हुन नपाउने अवस्था आएको छ ।’ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानको पनि उपस्थिति रहेको थियो ।











