फाइल तस्बिर ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा बुधबारबाट सुरु भएको राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल (चेस) प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको टोलीले एकल अग्रता कायम गरेको छ । बिहीबार चौथो चरणको खेलसम्ममा आयोजक शहर हेटौंडाका खेलाडीहरुले प्रतियोगितामा एकल अग्रता कायम गर्न सफल भएका हुन् ।

प्रतियोगितमा दोश्रो वरियता प्राप्त दोलखालाई ०.५ का विरुद्ध ३.५ गेम प्वाइन्टले हराउँदै हेटौंडाले एकल अग्रता बनाएको हो । यसअघि दोश्रो चरणको खेलमा ललितपुर स्पोर्टस् क्लबमाथि ४–० को नतिजा हात पारेको हेटौंडाले तेश्रो चरणमा ललितपुर महानगरपालिकामाथि ३–१ को जित हात पारेको थियो । चौथो चरणको समाप्तिमा हेटौंडाले ८ म्याच प्वाइन्ट बनाएको छ ।

दोश्रो चरणको खेलमा महालक्ष्मी नगरपालिकालाई तथा तेश्रो चरणमा प्रतियोगिताको तेश्रो वरियता प्राप्त इलामको गजुरमुखी चेस क्लबलाई समान ३–१ अन्तरले पराजित गर्न सफल दोलखा समग्रमा ६ म्याच प्वाइन्टका साथ अंक तालिकाको दोश्रो स्थानमा रहन सफल भएको छ । ललितपुर महानगरपालिका, झापाको नाइट चेस क्लब काकडभिट्टा, माउण्ट एभरेष्ट चेस एण्ड सोसियल क्लब गोकर्णेश्वर समान ६/६ म्याच प्वाइन्ट बनाउँदै दोश्रो स्थानमा रहेका छन् ।

गजुरमुखी चेस क्लब र ललितपुर स्पोर्टस् क्लबको चौथो चरणको खेल २–२ को बराबरीमा टुंगिएसँगै दुबै टोलीको समान ५–५ म्याच प्वाइन्ट भएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिका, भक्तपुर नगरपालिका, महालक्ष्मी नगरपालिका तथा बाँकेको टोलीले समान चार–चार म्याच प्वाइन्ट बनाएको छ । पोखरा महानगरपालिका र स्याङ्जाको तीन–तीन अंक रहेको छ ।

व्यक्तिगत बोर्डमा ललितपुर महानगरका पुरुषोत्तम सिलवाल तथा बिदुर नगरपालिकाका आश्चर्य चौधरी शतप्रतिशत नतिजा निकाल्दै समान ४–४ अंकका साथ पहिलो बोर्डमा अग्रस्थानमा रहेका छन् । त्यसैगरी नाइट चेस क्लबका अनिल राजवाहक ४ अंकका साथ दोश्रो बोर्डमा अग्र स्थानमा रहेका छन् भने तेश्रो बोर्डमा हेटौंडाका सुरवीर लामाले ३ दशमलब ५ अंकका साथ अगाडि रहेका छन् । चौथो तथा पाँचौं बोर्डमा समेत हेटौंडाका फिडेमास्टरद्वय रुपेश जयसवाल ४ अंक तथा क्षीतिज भण्डारी ३ अंक बनाउँदै अग्रता लिन सफल भएका छन् । प्रतियोगिताअन्र्तगत् शुक्रबार बिहान हुने पाँचौं चरणको खेलमा हेटौंडाले नाइट चेस क्लबको सामना गर्नेछ भने दोलखाले ललितपुर स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।