हेटौंडाः हेटौंडामा बुधबारदेखि अन्तर शहर बुद्धिचाल(चेस) प्रतियोगिता सुरु भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल र हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले चेसको चाल उचालेर प्रतियोगिताको सुरुवात गर्नुभएको हो ।
४ दिनसम्म चल्ने प्रतियोगितामा अनुशासन कायम राखि खेल खेल्न खेलाडीहरुलाई बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले आग्रह गर्नुभयो । उहाँले खेल क्षेत्रले नेपालको पहिचान बोकेको भन्दै खेललाई सबैले माया गर्नुपर्ने बताउनुभयो ।
आउँदो बैशाख महिनामै बागमती प्रदेश सरकारले पनि प्रदेशस्तरीय खेलहरु सञ्चालन गर्ने तयारी गरेको उहाँले जानकारी दिनुभयो । यस्तै बुद्धिचाल संघका केन्द्रिय अध्यक्ष एकलाल श्रेष्ठले चेस प्रतियोगितालाई घरभित्रै बसेर खेल्न सकिन्छ भनेर नबुझ्न आग्रह गर्नुभयो । प्रतियोगितामा देशभरका १८ वटा टिमले भाग लिएका छन् ।
प्रतियोगिताको विजेता हुनेले २ लाख ५० हजार, उपविजेताले १ लाख ५० हजार, तृतीय हुनेले ५० हजार, चौथौ र पाँचौ हुनेले क्रमश ३० र २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।