हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित भएको छ । मंगलबार बसेको संघको कार्यसमिति बैठकले साधारणसभा र निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । संघले यही चैत २१ गतेदेखि २३ गतेसम्म वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रम तय गरेको थियो ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै धेरै जना जमघट हुने सभा, सम्मेलन नगर्न स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरले अपिल गरेको कारण देखाउँदै संघले साधारणसभा तथा निर्वाचन कार्यक्रम स्थगित गरेको छ । घोषित सभा तथा निर्वाचन कार्यक्रम स्थगित गरिएको र परिस्थिति अनुकूल भएपछि उपयुक्त समयमा वार्षिक सभा तथा निर्वाचन सम्पन्न गर्ने संघका अध्यक्ष कृष्ण कटुवालले बताउनुभयो ।

आइतबार स्वास्थ्य मन्त्रालयले छिमेकी देशमा कोभिड १९ को संक्रमण बढ्दो क्रममा रहेकाले नेपालमा पनि संक्रमण बढ्नसक्ने भन्दै देशभर सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, सेमिनारलगायत भिडभाड हुने कार्य नगर्न विज्ञप्ति जारी गरेको थियो । यस्तै, जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार स्वास्थ्य मन्त्रालयको विज्ञप्तिकै आधारमा जिल्लाभित्र अत्यावश्यकबाहेकका भिडभाड हुने कार्य नगर्न विज्ञप्ति जारी गरेको थियो । कोभिडको नयाँ संक्रमण थप प्रभावशील र जोखिमपूर्ण हुने समाचार आइरहँदा संघले उद्योगी/व्यवसायी तथा आम सर्वसाधारणलाई सचेत रहन र सुरक्षा सावधानीका सम्पूर्ण मापदण्डहरु परिपालना गर्न पनि अनुरोध गरेको छ ।

संघको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका अध्यक्षका प्रत्यासी राजकुमार न्यौपानेले चुनाव रोक्ने षड्यन्त्र गरेको आरोप लगाउनुभएको छ । साधारणसभा स्थगित गर्ने निर्णय सार्वजनिक भएलगत्तै न्यौपाने प्यानलको चुनावी प्रचारप्रसारका लागि स्थापना गरेको सचिवालयमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले चुनाव हुन केही दिन बाँकी रहँदै स्थगित गर्नु न्यायिक नभएको जीकिर गर्नुभयो । न्यौपानेले निर्वाचन स्थगित गरेकोप्रति घोर भत्र्सना गर्नुभएको छ । उहाँले संघको यस्तो निर्णयको कानुनी उपचार खोज्ने जानकारी दिनुभयो ।

आफ्नो पक्षमा व्यवसायीको जमात बढेसँगै चुनाव जित्ने निश्चित भएपछि स्थगित गर्ने खेल भएको न्यौपानेले आरोप लगाउनुभएको छ । चुनाव रोक्न प्रशासनले पनि कतै रोकटोक नगरेको उहाँको भनाइ छ ।