हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पुष्पकमल दाहाल (प्रचण्ड)लाई कम्युनिष्ट आन्दोलको भष्मासुरको रुपमा व्याख्या गर्न सकिने बताउनुभयो । नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथिको प्रहार, नेकपामाथि प्रहार हुँदा कम्युनिष्टहरु प्रचण्डको कारण रोएको स्मरण गर्नुभयो ।
राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरको सोमबार हेटौंडामा भएको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले भन्नुभयोे, ‘हिजो कथित जनयुद्धको नाममा १७ हजार जनताको हत्या गर्दै, चन्दा नदिएको नाममा शिक्षकहरुलाई झुण्ड्याउँदै, सहयोग नगरेको नाममा सर्वसाधारणको हत्या गर्दै पुष्पकमल दाहाल राजनीतिमा उदाएका हुन् ।’ नेता बस्नेतले प्रचण्ड राजनीतिमा आएदेखि हालसम्मको इतिहासको बेलिविस्तार सुनाउनुभएको थियो ।
प्रचण्डको घेरामा कहिल्यै लडाकु, शहीदका परिवार, घाइते तथा पीडितका परिवार नपरेको आरोप लगाउँदै नेता बस्नेतले भन्नुभयो, ‘आफ्नै छोरीहरु, ज्वाइँहरु, आफन्त, माफिया, ठेकेदारहरुमात्रै प्रचण्डको वरिपरि बस्न थाले ।’
माधव नेपाललगायत सरकारलाई बदनाम गराउन लागेका, पार्टीलाई खुइल्याउन लागेको भन्दै नेता बस्नेतले एमाले त आयो, सूर्य चिन्ह पनि आयो भनेर भन्न चाहेको बताउनुभयो । आत्मआलोचना गर्दै केन्द्रीय बैठकमा आउन माधव नेपाललाई उहाँले आग्रह गर्नुभयो ।
नेकपा एमाले कम्युनिष्ट आन्दोलनको गम्भीर मोडमा आइपुगेको भन्दै युवाहरुलाई जोश जाँगरले कार्य गर्न उहाँले निर्देशन दिनुभयो । १६ वर्षदेखि ३९ वर्षसम्मका मध्यम वर्गको युवाहरु, गाउँ शहर केन्द्रित युवाको पंक्तिहरु नेकपा एमालेसँग भएको भन्दै नेपाली कांग्रेसलगायत अन्य दलहरुले पनि अहिलेको पंक्तिसँग जुध्न सक्ने हिम्मत नगर्ने उहाँको भनाई थियो ।
भेलाले राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरको संयोजकमा लक्ष्मण उप्रेतीलाई चयन गरेको छ । युवा संघ नेपाल, मकवानपुरका सचिवसमेत रहेका उप्रेतीलाई संयोजकमा चयन गरेको हो ।