हेटौंडाः मकवानपुरको पश्चिमी क्षेत्र मनहरीबाट गैंडा गणना गर्न टोली खटिएका छन् । देशैभर सोमबारबाट गैंडा गणना सुरु भएको हो । मकवानपुरको मनहरी गाउँपालिकाको प्रतापपुर पोस्टबाट गैंडा गणना गर्न ४० हात्तीहरु परिचालित भएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो ।
४० मध्ये एक हात्तीमा ३ जना प्राविधिकसहित टोली छन् । कुल १९ कलस्टरमा छुट्याएर गैंडा गणना मकवानपुरबाट सुरु भएको उहाँले जानकारी दिनुभयो । पर्सा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्जमा गैंडा बस्ने स्थानहरुको बारेमा प्राविधिक रेकर्डसहित जनशक्तिहरु खटिएको उहाँले बताउनुभयो ।
प्रत्येक कलस्टरमा १ दिन बस्ने भएकाले करिब २५ दिनमा गणना सक्ने तयारी रहेको उहाँको भनाई छ । जंगलमा खाने–बस्ने प्रबन्धसहित टोली गैंडा गणना गर्न निस्किएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । गैंडा गणनाको वनमन्त्री प्रेम आलेले सोमबार उद्घाटन गर्नुभएको थियो ।