हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–१२, जितपुरभञ्ज्याङस्थित सेतीदेवी आधारभूत विद्यालयले शुक्रबार हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेको छ । विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा ४ देखि कक्षा ८ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा पासाङ ल्हामु समूहका सुशीला भुलुन, सुनिता स्याङ्तान, श्रेया तितुङ, बलबहादुर थिङ, विजय वाइवा, निरोज थिङ प्रथम भएका छन् । भृकुटी समूहका महेश भोम्जन, सूर्यबहादुर वाईबा, मालती थिङ, अस्मिता भुलुन, सरस्वती मग्राती, आकाश गोले द्वितीय भए । अरनिको समूहका शान्तिमाया स्याङ्तान, सञ्चमाया स्याङ्तान, सुनबहादुर तितुङ, मदन स्याङ्तान, समीक्षा स्याङ्तान र नवराज थिङको समूह तृतीय भए ।
औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक नरेन्द्र रेग्मीले गर्नु भएको थियो भने स्वागत मन्तव्य विद्यालयकी शिक्षक भवानी तिमल्सिना न्यौपानेले गर्नु भएको थियो । विभिन्न समयमा भइरहने यस किसिमका कार्यक्रमले विद्यार्थीको सिर्जनात्मक, रचनात्मक तथा बौद्धिक विकासमा सहयोग पुग्ने विद्यालयका शिक्षक भावना सापकोटाले बताउनु भयो ।