हेटौंडाः हेटौंडामा जारी शहीद स्मृति हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिहीबार त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिभुवन आर्मी क्लबले क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसन (अरास) लाई १–० गोलअन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदानमा भएको खेलमा आर्मी जित दिलाउन आशिष शाक्यले खेलको दोस्रो हाफको २३ औँ मिनेटमा निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच आर्मी टेकबहादुर बुढाथोकी घोषित भए । बुढाथोकीले नगद १० हजार रुपैयाँ प्राप्त गरे । म्यान अफ द म्याचको उपाधि हेटौंडा उपमहानगरपालिका १८ नम्बर वडा अध्यक्ष अनिल बानियाँले हस्तान्तरण गर्नुभयो । खेल अवधिभर त्रिभुवन आर्मी क्लबलाई दबावमा राखे पनि गोल गर्न नसक्दा क्यामरुनी टिमले हार टार्न सकेन ।
अब त्रिभुवन आर्मीले फाइनलमा साविक विजेता मकवानपुर–११ सँग उपाधिका लागि खेल्नेछ । यसअघि बुधबार भएको पहिलो सेमिफाइनल खेलमा साविक विजेता मकवानपुर–११ ले शहीद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई पराजित गरेको थियो । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।