हेटौंडाः बागमती प्रदेशमा क्रियाशील पत्रकारका लागि ५ दिने मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ । बामगती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तालिमको आयोजना गरेको हो । मकवानपुरको मकवानपुरगढीमा तालिमको आयोजना गरिएको छ ।
तालिमको बागमती प्रदेशका प्रमुख सचिब डा. मान बहादुर बिकेले बिहीबार उद्घाटन गर्नुभएको छ । बागमती प्रदेशको सञ्चार रजिस्ट्रारको कार्यालयको समन्वयमा भएको तालिममा बागमती प्रदेशका विभिन्न जिल्लाका २० जना पत्रकारको सहभागिता रहेको छ । तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले खोजमूलक पत्रकारिताको आवश्यकता औँल्याउनुभयो ।
समाचार लेख्दा सकारात्मक दृष्टिकोण राखे पनि समाचार सार्वजनिक हुँदा नकारात्मक सन्देश प्रवाह हुन सक्नेतर्फ पत्रकार सचेत हुनुपर्ने प्रमुख सचिव बिकेको धारणा थियो । ब्रेकिङ न्यूज दिने होडमा सनसनी फैलन सक्ने खतरा रहने उहाँको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष प्रताप बिष्टले कोरोनाकाल यता अनलाइनप्रति पाठक, दर्शक, स्रोताको ध्यान केन्द्रित भएको बताउनुभयो । अनलाइन पत्रकारिताको सीप, दक्षता र क्षमता भएका पत्रकारका लागि राम्रो अवसरको समय आएको उहाँको भनाइ थियो । कानुन मन्त्रालयका सचिब मदन भुजेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाको पनि उपस्थित रहेको थियो ।