हेटौंडाः हेटौंडा–१४, बँदेलधापमा सोमबार एउटा बालविवाह रोक्न सफल भएको छ । वडा सदस्य चमेली सिञ्जाली मगर, ग्रामीण महिला सेवा केन्द्रकी सामाजिक परिचालक सरस्वती योञ्जन, सिविन बाल हेल्पलाइन हेटौंडाकी सुजाता पौडेलको समूहले २ दिन अघि मात्रै भागी विवाह गरेका १६ वर्षका किशोर र किशोरीको बालविवाह रोक्न सफल भएको हो ।

बालविवाह भएको भन्ने थाहा पाएपछि परिवार, आफन्त र छरछिमेकलाई भेला गरी सोमबार आवश्यक परामर्श गरिएको ग्रामीण महिला सेवा केन्द्रकी सामाजिक परिचालक सरस्वती योञ्जनले जानकारी दिनुभएको छ । बालविवाह दण्डनीय अपराध भएको कुरा जानकारी गराउनुका साथै बालविवाह गर्दा आइपर्ने शारीरिक, मानसिक, सामाजिक, आर्थिक लगायतका जटिलताबारे परामर्श गरेपछि बालविवाह गर्ने किशोरकिशोरी, अभिभावक, परिवार, आफन्त र छरछिमेकीले बालविवाह रोक्न सहमत भएको योञ्जनको भनाइ छ ।

मनहरी गाउँपालिका–२, रजैयाका १६ वर्षीय किशोर र हेटौंडा उपमहानगरपालिका–१४, बँदेलधापकी १६ वर्षीया किशोरीबीच बालविवाह भएको हो । बालविवाह रोकेर किशोरीलाई सिविन बाल हेल्पलाइनको आवासीय परामर्श सेवाका लागि राखिएको छ । १० कक्षामा पढाई छाडेका किशोर ट्याक्टर चलाउँछन् भने ५ कक्षामा पढाई छाडेकी किशोरी घरमै बस्दै आएकी छन् । बालविवाह गरेका किशोर किशोरीलाई २० वर्ष पूरा भएपछि मात्रै विवाह गर्न सहमत गराएर उनीहरु बीच भएको बालविवाह रोकिएको हो ।

२०७७ सालको ११ महिनाको अवधिमा मकवानपुर जिल्लामा ८९ वठा बालविवाहका घटना पहिचान भएको र ७६ वटा बालविवाहका घटना रोक्न सफल भएको सिविन बाल हेल्पलाइनले जनाएको छ । बालबालिकाप्रति अभिभावकको निगरानी नहुनु, अभिभावकले दोस्रो विवाह गर्नु, अभिभावकहरु मादक पदार्थ सेवन गर्ने गर्नु, बालबालिका विद्यालय जान छाड्नु, बालबालिकालाई यौन शिक्षाको नकारात्मक प्रभावका कारण पनि बालविवाहका घटना बढेको सिविन बाल हेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवालीको भनाइ छ ।