शिक्षाका लागि साईकल यात्रामा निस्कनु भएका देवेन्द्र बस्न्यातले मन्तव्य राख्नुहुँदै ।

हेटौंडाः शिक्षाका लागि साईकल यात्रामा निस्कनु भएका देवेन्द्र बस्न्यातलाई सहयोग रकमसहित हेटौंडाबाट विदाई गरिएको छ । सोमबार साँझ हेटौंडा आइपुग्नु भएका बस्न्यातलाई मंगलबार बिहान हेटौंडाको बुद्धचोकबाट विदाई गरिएको हो । मंगलबार बिहानसम्ममा करिब ३० हजार रुपैयाँ सहयोग संकलन भइसकेको छ । एक दुई दिनमा थप सहयोग संकलन गरेर बस्न्यातको अभियानमा बचत गरिदिने बताइएको छ ।

मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्ट, हेटौंडा उपमहनगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, नेपाल बुद्धिचाल संघको बागमती प्रदेश समितिका अध्यक्ष ज्ञानकृष्ण प्रजापति, मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठलगायत साइकल अभियन्ताले बस्न्यातलाई विदाई गरेको हो । हेटौंडाबाट विदाई भएर बस्न्यात नारायणगढ हुँदै बुटवलतर्फ जानुहुने हेटौंडाका साइकल अभियन्ता जीवन शर्माले जानकारी दिनुभएको छ ।

दोलखाको राजकुलेश्वर विद्यालयलाई सहयोग गर्न तथा डडेलधुरामा पुस्तकालय पुनस्र्थापना गर्न साईकलयात्री देवेन्द्र बस्न्यात दोलखादेखि–डोटिसम्म साइकल यात्रामा निस्कनु भएको हो । बस्न्यात एक्लै साईकलयात्रामा निस्कनुभएको छ । बस्न्यातले दोलखादेखि डोटीसम्मको यात्रा तय गर्दा एक हजार दुई सय किलोमिटर दूरी पार गर्नुहुनेछ ।