हेटौंडाः लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जाल मकवानपुरले लैंगिक समानताका लागि स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक् अन्तरक्रिया गरेको छ ।
बिहीबार हेटौंडामा मकवानपुरको मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका, कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकाका जनप्रतिनिधिसँग अन्तरक्रिया गरेको हो । अन्तरक्रियामा पालिकाका कर्मचारीको पनि सहभागिता रहेको थियो ।
लैंगिक समानताका लागि पुरुष सहभागिता सञ्जाल मकवानपुरका संयोजक प्रकाश खतिवडाको अध्यक्षतामा अन्तरक्रिया भएको हो । नारी सीप सृजना केन्द्रको सभाकक्षमा अन्तरक्रिया भएको हो । नारी सीप सृजना केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिलाई सोही अवसरमा लैंगिक समानता कायम गर्न गराउन पालिकाका जनप्रतिनिधिको भूमिकाका बारेमा अभिमुखीकरण गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक खतिवडाले जानकारी दिनुभयो ।
अन्तरक्रियामा सहभागी पालिकाका जनप्रतिनिधिले लैंगिक समानताका लागि आफू मात्रै नभएर पालिकाका सबै जनप्रतिनिधिलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा नारी सीप सृजना केन्द्र हेटौंडाकी अध्यक्ष सरस्वती बर्तौलाको पनि उपस्थिति रहेको थियो ।