गुगल तस्बिर ।

हेटौंडाः राक्सिराङ गाउँपालिकामा विविध सीपमूलक तालिमहरु सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ३ को वडा कार्यालय भवनमा विभिन्न प्रकारका सीपमूलक तालिम सुरुवात गरिएको हो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मंगलबार विभिन्न चारवटा सीपमूलक तालिम कार्यक्रमको उद्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको आर्थिक सहयोग र जिल्ला लघु उद्यमी संघको प्राविधिक सहयोगमा तालिम सुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रम बागमती प्रदेशको उद्योग, वन तथा वातावरण मन्त्रालयका सचिव सिन्धु ढुंगानाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा डिभिजन वन कार्यालय मनहरीका प्रमुख दीर्घनारायण कोइराला, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहाललगायतको आतिथ्यता थियो ।

दुना टपरी निर्माण, सिलाई बुनाई, ब्युटी पार्लर तथा कृषि तथा पशुपालनसम्बन्धी तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख दाहालले जानकारी दिनुभयो । चारवटै तालिममा ६३ जनाको सहभागिता रहेको प्रमुख दाहालले बताउनुभयो ।