हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा आज बिहीबारबाट स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदैछ । खेलको धुुुर्मुस–सुन्तलीले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुने उद्घाटन खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ र नवजनजागृति युवा क्लब सिमरा भिड्नेछ ।

गोल्डकपमा १० वटा क्लबले सहभागिता जनाउने प्रतियोगिताको मुल आयोजक समितिका अध्यक्ष प्रताप बिष्टले जानकारी दिए । गोल्डकपमा एक विदेशी टिम अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनले पनि सहभागिता जनाउँदैछ ।

ए डिभिजन लिगका ६ वटा क्लबहरुले खेलमा सहभागिता जनाउँनेछन् । गोल्डकपमा नेपाल आर्मी, एपीएफ क्लब, नेपाल पुलिस क्लब, जवलाखेल युथ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, बागमती युवा क्लब सर्लाही, नवजनजागृति युवा क्लब सिमरा, मकवानपुर–११ सहभागि हुनेछ । प्रतियोगिताको फाइनल खेल चैत्र ७ गते हुनेछ ।

गोल्डकपको विजेताले नगद १० लाख तथा उपविजेता बन्ने समूहले नगद ५ लाख प्राप्त गर्नेछ । यस्तै खेलको सर्वोत्कृष्ट खेलाडिले ६ लाख ५० हजार रुपैयाँ मूल्य पर्ने बुलेट बाइक प्राप्त गर्ने आयोजकले जनाएको छ ।