हेटौंडाः १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरेको छ । ‘महिला सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ आइतबार मन्त्रालयको सभाहलमा अन्तरक्रिया कार्यक्रममा भएको हो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले महिलाहरुका लागि ८ मार्च चाड–पर्वको रुपमा रहेको बताउनुभयो । महिला दिवसकै दिन महिलाहरुले मुक्तिका लागि आन्दोलन सुरु गरेको स्मरण गराउँदै मुख्यमन्त्री पौडेलले महिला नेतृत्वको पनि व्यापकरुपमा वृद्धि हुँदै गएको बताउनुभयो । सांस्कृतिक तथा परम्परावादी सोचअनुरुप समाज पितृसत्तात्मक तथा पुरुषप्रधान भएकै कारण महिलाहरुमाथि शोषण भइरहेको उहा“ले बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले विस्तारै–विस्तारै पितृसत्तात्मक तथा पुरुषप्रधान सोचमा सुधार हुँदै गएको अवस्थामा हरेक महिलाहरुले आफू कसरी समृद्ध हुने भन्नेतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । हरेक महिलाले आफूसँग भएको ज्ञान, सीप र क्षमतलाई उजागर गर्दै श्रीमान तथा परिवारमाथि निर्भरता कम गराउँदै गएमा महिलाको स्थिति सुधार हुने उहाँले बताउनुभयो । अहिलेको तीनवटै तहको सरकार महिलाहरुको हक, अधिकारप्रति संविधानले दिएको अधिकारको रक्षामा प्रतिबद्ध रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।
अन्तरक्रियामा बागमती प्रदेश सचिव राधिका अर्यालले महिला आन्दोलनको इतिहासबारे जानकारी गराउँदै सन् १९०९ मा संयुक्त राज्य अमेरिकाबाट महिला अधिकारको आन्दोलन सुरु भएको बताउनुभयो । पहिलो पटक महिलाहरुले २८ फेब्रुअरीमा पहिलो राष्ट्रिय महिला अधिवेशन मनाएको र त्यहाँ सोसलिष्ट पार्टीले त्योभन्दा अगाडि सन् १९०८ मा न्यूयोर्क शहरमा एउटा काम गर्ने महिलाले आफ्नो काम गर्ने वातावरण तथा कार्यक्षेत्रको सन्दर्भमा आन्दोलनको आयोजना गर्दै सन् १९०९ को २८ फेब्रुअरीमा पहिलो पटक राष्ट्रिय महिला दिवसको रुपमा मनाइएको उहाँले बताउनुभयो ।