सहयोग कार्यक्रमपछि सामुहिक तस्बिर ।

हेटौंडाः १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अनेरास्ववियु महिला विभाग मकवानपुरले दृष्टिविहीन विद्यार्थीलाई दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ । हेटौंडा–५ स्थित बालज्योति माविमा अध्ययनरत १७ जना दृष्टिविहीन बालबालिकालाई उपभोग्य सामग्री सहयोग गरिएको हो । विद्यार्थीहरुलाई साबुन, ब्रस, मञ्जन, भुजा, दलमोठ, बिस्कुटलगायत सामग्री हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अनेरास्ववियु मकवानपुरका महिला विभाग प्रमुख स्वाइच्छा डंगालको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यता थियो । सो अवसरमा प्रमुख अतिथि पौडेलले सहज वातावरणमा विद्यालयले पठनपाठनमा सहयोग गर्दै आएको हुँदा कोही दृष्टिविहीन विद्यार्थीहरु शिक्षाबाट वञ्चित नहुने बताउनुभएको छ । उहाँले विद्यार्थीहरुले आफूलाई कहिले कमजोर महसुस गर्न नहुने, आत्मविश्वासका साथ अगाडि बढ्नुपर्ने बताउनुहुँदै अनेरास्ववियु सपनाको सहयात्री बन्ने प्रतिबद्वता व्यक्त गर्नुभएको छ ।

अनेरास्ववियु महिला विभाग सचिव जस्मिता अधिकारीले सबैजनामा एउटा प्रतिभा लुकेको बताउनुहुँदै त्यो प्रतिभा विशालरुपमा देख्न पाउने प्रतिवद्वता व्यक्त गर्नुहुँदै स्वागत मन्तव्य राख्नुभएको छ । कार्यक्रममा विशिष्ट अतिथि विद्यालयका प्रधानाध्यापक भरत अर्याल र अतिथिहरु अनेरास्ववियु केन्द्रीय सदस्य किसन घिसिङ, विशाल पौडेल, विना देवकोटा, नवीन मिश्र, देवराज गौतमलगायतको उपस्थिति रहेको थियो ।