हेटौंडाः मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका स्थानीयलाई नागरिकता प्राप्तिका लागि सहजीकरण गर्न गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र त्यस क्षेत्रका प्रदेशसभा सांसदसमेत जिल्ला प्रशासन कार्यालय पुगेका छन् । जनप्रतिनिधिको सहजीकरणमा राक्सिराङ गाउँपालिकाको धिराङ, दाम्राङ, गर्लिङ र जुरेथुमका ६० जनाले आइतबार एकसाथ नागरिकता प्राप्त गरेका हुन् ।

खाजा, खाना र गाडीको समेत सेवा दिएर जनप्रतिनिधिले प्रशासन कार्यालयमा आएर एकैदिन सबैलाई नागरिकता दिलाएका हुन् । धिराङ स्थायी निवासी बागमती प्रदेशसभा सांसद सन्तबहादुर प्रजा, राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, ७ नम्बर वडाध्यक्ष कुलबहादुर प्रजा, १ नम्बर वडाध्यक्ष कान्छाराम रुम्बा आफैं जिल्ला प्रशासन कार्यालय मकवानपुर पुग्नुभएको थियो ।

विकट गाउँबाट सदरमुकामसम्म आएर नागरिकता बनाउन गाउँबासीले एकैदिनमा काम सक्याउन नसक्ने अवस्था रहेकाले स्थानीयको समस्यालाई मध्यनजर गर्दै आफूहरुले नै सहजीकरण गरेर गाउँबासीलाई नागरिकता दिलाइएको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

नागरिकता बनाउन बाँकी रहेकाहरुको तथ्यांक संकलन गरी आवश्यक कागजातसमेत जुटाउन लगाएर जनप्रतिनिधिले गाउँबासीलाई प्रशासन कार्यालयसम्म ल्याएका थिए । प्रशासन परिसरमा बसेर वडाध्यक्ष प्रजाले नागरिकताको सिफारिस दिनुभएको थियो ।गाउँका १६ वर्षदेखि ७१ वर्षसम्मकाले नागरिकता लिएका थिए । नागरिकता लिने र सनाखत गर्न आउने करिब एकसय २० जनाभन्दा बढी स्थानीयलाई प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाले खाजा र पानीको व्यवस्था गर्नुभएको थियो ।

विकट गाउँका नागरिकलाई नागरिकता बनाउन आउन यातायातको असुविधा, बास नै बस्नुपर्ने बाध्यता, आवश्यक कागजपत्रबारे अनविज्ञतालगायतको कारण असहज भएकाले आफूहरुले सहजीकरण गरेको गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो । नागरिकता बनाउन छुटेका अन्य वडाका बासिन्दालाई पनि नागरिकता बनाउन यस्तै सहजीकरण जारी राख्ने उहाँले जानकारी दिनुभयो ।