हेटौंडाः हेटौंडामा जारी मेयर कप फुटबल प्रतियोगिताको फाइनल खेलमा आज सोमबार वडा नम्बर १० र १८ भिड्ने भएका छन् । दुवै टिम जित निकाल्ने योजनाका साथ मैदानमा उत्रनेछन् ।
हेटौंडा उपमहानगरपालिकाको आयोजनामा फागुन १५ गतेबाट सुरु भएको मेयर कप फुटबल प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको विजेता हुने टिमले नगद २ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टिमले नगद १ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले बताउनुभयो ।
वडा नम्बर १० ले मेयर कपमा पहिलो खेल वडा नम्बर ४ सँगै खेलेको थियो । वडा नम्बर ४ लाई २–० गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको थियो । १० नम्बर वडाले दोश्रो खेलमा वडा नम्बर १९ लाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा वडा नम्बर १३ लाई वडा नम्बर १० ले टाइब्रेकरमा ४–१ गोलले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । वडा नम्बर १० ले ३ खेल खेल्दै फाइनल प्रवेश गरेको छ । १० नम्बर वडाले ३ खेलमा १० गोल गरेको छ ।
यसैगरी वडा नम्बर १८ चार खेल खेलेर फाइनलमा प्रवेश गरेको छ । पहिलो खेलमा वडा नम्बर १२ लाई २–१ गोलअन्तरले हराउँदै वडा नम्बर १८ ले विजयी सुरुवात गरेको थियो । १८ नम्बर वडाले दोस्रो खेलमा वडा नम्बर १५ लाई २–१ गोलले, तेस्रो खेलमा वडा नम्बर ७ लाई २–० गोल र चौथो खेलमा वडा नम्बर ५ लाई टाईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । १८ नम्बर वडाले ४ खेल खेल्दा ११ गोल गरेको छ । दुबै टोलीले प्रत्येक खेलमा जित हासिल गरेका छन् । दुबै टोलीले आफुलाई अब्बल साबित गर्दै आज फाइनल खेल खेल्दैछ । दुबै टोलीको खेल रोचक हुने अनुमान छ ।