हेटौंडाः हेटौंडाबाट १३ किलो लागूऔषध अफिम र २६ ग्राम चरेश बरामद भएको छ । हेटौंडा–३, तीनताप्केस्थित सडकखण्डमा मनहरीतर्फबाट हेटौंडा आउँदै गरेको अनटेस्ट लेखेको ग्लामोर मोटरसाइकलको सिटमुनि ९ वटा पोका र मोटरसाइकलमा सवार माइली योञ्जनले भिरेको झोलामा ६ वटा पोका गरी १५ वटा पोकामा १३ किलो लागूऔषध अफिमजस्तो पदार्थ र २६ ग्राम लागूऔषध चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो
मोटरसाइकल चालक सानुकान्छा योञ्जन फरार रहेको उहाँले बताउनुभयो । मोटरसाइकल चालक र लागूऔषधसहित पक्राउ परेकी माइली योञ्जन श्रीमान श्रीमती हुन् । प्रहरीलाई देखेपछि भाग्ने क्रममा उनीहरुको मोटरसाइकल एक टिपरमा ठक्कर खाँदा दुर्घटना भएको थियो । दुर्घटनामा माइलीमाया घाइते भएको र अहिले हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रिमालले जानकारी दिनुभयो ।
यस्तै, मकवानपुर प्रहरीले ९ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित आइतबार २ जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा–११ स्थित पूर्व–पश्चिम लाोकमार्गमा ना २ ह १८८३ नम्बरको अटोलाई रोकी सुरक्षाजाँच गर्दा अटोमा ९ किलो ६ सय ग्राम लागूऔषध गाँजा फेला परेको थियो । प्रहरीले लागूऔषध गाँजासहित हेटौंडा–१९ का अटो चालक ३४ वर्षीय सोमलाल ब्लोन र सोही ठाउँ बस्ने अटोमा सवार ३५ वर्षीय सोमलाल ब्लोनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।