साङ्केतिक तस्बिर goole.com

हेटौंडाः बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विद्युतीय बस खरिद तथा चार्जिङ स्टेशन निर्माण गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिष्दको कार्यालयमा प्रस्ताव पेश गरेको छ । प्रस्ताव पेश भएपनि यसबारे बाँकी प्रक्रिया भने अगाडि बढाइएको छैन ।

यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक सहदेव भण्डारीका अनुसार प्रदेशमा ४१ वटा विद्युतीय बस खरिद गर्न प्रस्ताव गरिएको हो । प्रस्तावको अध्ययन गरी प्रदेश सरकारले विद्युतीय बस खरिद प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । प्रदेश सरकारले प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको गठन गरेर खरिद गर्ने तयारी गरेको हो ।

यातायात पूर्वाधार निर्देशनालयले विद्युतीय बस खरिदका लागि विनियोजन गरेको १० करोड रुपैयाँ बजेट पनि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको खातामा जम्मा गर्ने तयारी भएको निर्देशनालयका लेखा अधिकृत राजेश थापाले जानकारी दिनुभयो । निर्देशनालयले ८ दशमलब ५ मिटर लम्बाई भएको ७ वटा विद्युतीय सिटी बस खरिद गर्नका लागि प्रतिबस १ करोड १४ लाख ८३ हजार ५ सय रुपैयाँसहितको प्रस्ताव मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको छ । यस्तै प्रतिबस १ करोड २६ लाख ८५ हजार ४ सय रुपैयाँका दरले ८ दशमलब ५ मिटर लम्बाईकै ८ वटा बस र १० दशमलब ५ मिटर लम्बाईको २६ वटा विद्युतीय सिटी बस खरिद गर्न प्रस्ताव गरिएको निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

बागमती प्रदेशका विभिन्न स्थानमा १० वटा चार्जिङ स्टेशन निर्माण गर्न प्रतिस्टेशन २२ लाख ९० हजार रुपैया“ बजेट अनुमानसहितको प्रस्ताव पनि पेश गरिएको छ । चितवनको भरतपुर महानगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका, धादिङको गल्छी गाउँपालिका, काठमाडौंको कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालगायत आठवटा स्थानीय तहले चार्जिङ स्टेशन निर्माणका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा यसअघि नै प्रस्तुत गरिसकेको प्रदेश यातायात निर्देशनालयका निर्देशक भण्डारीले जानकारी दिनुभयो ।

बागमती प्रदेशको धुलिखेल, भरतपुर, काठमाडौं उपत्यका, हेटौंडा, नुवाकोट र सिन्धुलीमा विद्युतीय बस सञ्चालनका लागि सातवटा रुट निर्धारण गरिएको छ । वि.सं २०८५ बैशाखसम्म खनिज तेलबाट चल्ने सवारी साधनलाई विद्युतीय र वैकल्पिक ऊर्जाबाट चल्ने साधनले विस्थापित गर्ने बागमती प्रदेश सरकारको नीति रहेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले बताउनुभयो । उहाँले वातावरणमैत्री यातायात प्रणालीको विकास गर्ने तयारीमा प्रदेश सरकार लागिपरेको बताउनुभयो । यसका लागि यातायात प्रणालीलाई डिजिटलाइज गर्ने कार्य भइरहको मन्त्री फुयँँलको भनाई छ । उहाँले अबको केही हप्ताभित्रै यसको प्रयोग देख्न सकिने भन्दै यसका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड गठन गरेको बताउनुभयो ।