भलिबल प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रतिष्ठानका पदाधिकारीहरु ।


हेटौंडाः हेटौंडामा अन्तरनगर महिला तथा पुरुष भलिबल प्रतियोगिता आज बुधबारबाट सुरु हुने भएको छ । हेटौंडाको हुुप्रचौरमा महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने भएको हो । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरको आयोजनामा प्रतियोगिता हुने प्रतिष्ठानका अध्यक्ष प्रताप बिष्टले जानकारी दिनुभयो । प्रतियोगितामा महिलाको १० समूहले सहभागिता जनाउने तथा पुरुषको १३ वटा समूहले भाग लिने प्रतिष्ठानका अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर २, ४, ५, ६, ११, १२, १५, १७ र १९ को महिला र पुरुष दुबै टिम सहभागी हुने भएको छ । वडा नम्बर १, ३, ८ र १६ बाट पुरुष टिममात्र सहभागी हुनेछ भने वडा नम्बर ९ र १४ को महिला टिममात्र सहभागी हुने भएको छ । यस्तै, उपमहानगरको वडा नम्बर ७, १०, १३ र १८ बाट कुनै पनि टिम सहभागी नहुने अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

प्रतियोगितामा महिला र पुरुषतर्फ विजयी हुने समूहले नगद ५०/५० हजार रुपैयाँ तथा द्वितीय हुने समूहले ३०/३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी महिला र पुरुष टिमबाट ६–६ जना गरी १२ जना खेलाडीलाई विधागत पुरस्कारस्वरुप जनही २ हजार ५ सय नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । प्रतियोगिताका लागि हेटौंडा उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ र प्रदेश खेलकुद विकास परिषद्ले ३० हजार रुपैयाँ सहयोग गर्ने भएको छ । प्रतियोगिता शंकर कार्कीको संयोजकत्वमा हुन लागेको हो ।