उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट ।

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा मयुरधाप औद्योगिक क्षेत्र निर्माण हुने भएको छ । हेटौंडा–१४ स्थित कालापानीको २ सय विगाह क्षेत्रफलमा फैलिएको ६२ प्लटहरुमा उद्योग खुल्ने गरी मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गरिएको छ । मयुरधाप औद्योगिक क्षेत्र ७ अर्बको लागतमा ५ वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य रहेको छ ।

शुक्रबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले हेटौंडा-१४ मा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुँदै औद्योगिक क्षेत्रमा रहेको समस्याहरु सबै सरकारले समाधान गर्ने बताउनुभयो । विशेष गरेर औद्योगिक क्षेत्रमा विद्युतको समस्या धेरै हुने भएको कारणले विद्युतसँगै सरकारले अन्य क्षेत्रका आधारभूत कुराहरुमा पनि छुट दिने गरी आकर्षक प्याकेज नै ल्याउने घोषणा गर्नुभयो ।

मन्त्री भट्टले देशमा राजनीतिक स्थायित्व कायम नभएसम्म विकासले गति लिन नसक्ने भन्दै देशमा स्थायित्व हुनुपर्ने बताउनुभयो । अहिले देशको आवश्यकता विकासको गति तिव्र हुनु भएको भन्दै औद्योगिक विकासमा सरकारले विशेष ध्यान दिएको बताउनुभयो । मयुरधाप औद्योगिक क्षेत्रले देशको अर्थतन्त्रमा योगदान, रोजगारी सिर्जना, दक्ष कामदारको उत्पादन, आयात घटाउने तथा आफ्नो उत्पादनमा आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएकोे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बताउनुभयो ।