हेटौंडाः हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ मा पूर्ण खोप दिवस मनाइएको छ । स्वास्थ्य चौकी चौघडाले मंगलबार विशेष कार्यक्रम गरेर पूर्ण खोप दिवस मनाइएको हो ।
नगर कार्यपालिका सदस्य कल्पना विकको प्रमुख अतिथ्यता रहेको कार्यक्रम चौघडा स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद सञ्जेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि विकले पूर्ण खोप लागू भएकोमा खुशी व्यक्त गर्नुहुँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ ।
तीन वर्षअगाडि उपमहानगरपालिकाले विभिन्न वडाहरुमा पूर्ण खोप कार्यक्रम लागू गरिएको भए पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । यस वर्षदेखि पूर्ण खोप कार्यक्रमलाई निरन्तरता दिँदै प्रत्येक महिनाको ७, ८ र ९ गते नियमित खोप लगाउने व्यवस्था मिलाइएको बताइएको छ । माघ २८ गते बालबालिकालाई खोप लगाएको वडाले यस खोप अभियानलाई निरन्तरता दिने भएको छ । माघ २९ गते वडा अध्यक्षको प्रमाणीकरणमा र फागुन ५ गते मेयरको प्रमाणीकरणसँगै फेरि पूर्ण खोपलाई निरन्तरता दिने भएको हो ।
खोप लगाउन छुटेका बालबालिकाको तथ्याङ्क संकलन गरी वडा कार्यालयले दुई वर्ष मुनिका बालबालिकालाई पूर्ण खोप दिँदै आएको वडा नम्बर ६ का स्वास्थ्य चौकी प्रमुख टीएन ढुङ्गेलले जानकारी दिनुभएको छ । स्वास्थ्य चौकीले बालबालिकाहरुका लागि खोप सेवा, गर्भवती जाँच सेवा, सुत्केरी पोषण सेवा, दीर्घरोगीका लागि निःशुल्क औषधि वितरण, टीबी रोगीका लागि निःशुल्क औषधि वितरण, नियमित जाँच सेवालगायतका सेवा प्रदान गर्दै आएको स्वास्थ्य चौकी प्रमुख ढुङ्गेलले बताउनुभयो ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुर अध्यक्ष साधुराम चौलागाईं, नेपाली काँग्रेस हेटौडा ६ नम्बर वडा सभापति रामहरि तिमल्सिना, चौघडा बचत तथा ऋण सहकारी संस्था अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समिति अध्यक्ष केशव धिताललगायतको उपस्थिति थियो ।