हेटौंडाः महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कला पुञ्जले वार्षिकोत्सवको अवसरमा साहित्यकारलाई सम्मान गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गरेर फागुन २२ गते पुञ्जको वार्षिकोत्सवको अवसरमा बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान चितवनकी समालोक एवम् कवि ज्ञानु अधिकारीलाई र प्रतिभा धिताल छन्द पुरस्कारबाट नवलपरासी निवासी कृष्णदेवी शर्मालाई प्रदान गरिनेछ । अधिकारी र शर्मालाई जनही १० हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने आँचलले जनाएको छ ।

आँचलले ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान कान्तिपुरकर्मी प्रताप विष्टलाई प्रदान गर्ने जानकारी दिएको छ । विष्टलाई सात हजार पाँच सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नेछ । टीकादत्त मायादेवी कुलकुमारी साहित्यिक पुरस्कार मकवानपुरे साहित्यकार निमेष निखिललाई प्रदान गर्ने निर्णय गरेको छ । निखिललाई ११ हजार एक सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गर्ने जनाएको छ । अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मान काठमाडौं निवासी कवि प्राज्ञ लक्ष्मी मालीलाई प्रदान गर्नेछ । १५ हजार एक रुपैयाँ नगदसहित मालीलाई सम्मान गर्ने जनाएको छ ।

मंगलादेवी श्रेष्ठ बाल प्रतिभा पुरस्कार हेटौंडा–१ स्थित अमर माविका विद्यार्थी प्रज्वल ढुंगानालाई प्रदान गरिने भएको छ । ढुंगानालाई नगद तीन हजार पाँच सय रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ । वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान मकवानपुरे साहित्यकार रामचन्द्र आचार्यलाई पाँच हजार एक रुपैयाँसहित सम्मानपत्र प्रदान गरिनेछ । मुक्ति तारा नवप्रतिभा सम्मानबाट नगद पाँच हजार एक रुपैयाँसहित प्रसिद्विका लम्साललाई प्रदान गरिने भएको छ । सुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान नगद १० हजार रुपैयाँसहित मकवानपुरे साहित्यकार सुवास खनाललाई प्रदान गरिने भएको छ । कलाकार, चित्रकार सूर्य सन्यासीलाई पनि पाँच हजार रुपैयाँसहित सम्मान गरिने आँचल साहित्य कला पुञ्ज मकवानपुरकी कार्यवाहक अध्यक्ष अनिता न्यौपानेले जानकारी दिनुभएको छ ।