हेटौंडाः भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिको कार्यालय मकवानपुरको बुधबार कार्यालय सुरुवात भएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले आयोगको कार्यालय उद्घाटन गरेर कार्यालयको शुभारम्भ गर्नुभएको हो ।
कार्यालय उद्घाटन गर्नुहुँदै जिसस प्रमुख खुलालले मकवानपुर जिल्लाको भूमिसम्बन्धी समस्या समाधानमा आयोगले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । भूमिसम्बन्धी समस्यालाई अब प्रभावकारीरुपमै समाधान गर्नेगरी काममा खटिन आग्रह गर्नुहुँदै उहाँले जिल्ला समन्वय समितिका तर्फबाट आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।
भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिमा एकजना अध्यक्ष, एकजना विज्ञ सदस्य र एकजना सदस्य गरी तीनजना हुनुहुन्छ । आयोगमा डिभिजन वन कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला मालपोत कार्यालयका प्रमुख सदस्य तथा जिल्ला समन्वय अधिकारी सदस्यसचिव हुनुहुन्छ । कार्यालय उद्घाटनसँगै प्रमुख खुलालले आयोगका अध्यक्ष एवम् सदस्यहरुलाई कार्यकक्षमा स्वागतसमेत गर्नुभएको थियो ।
कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामेश्वर रानाले आयोगमार्फत् जिल्लामा भूमिविहीनलाई जग्गा, लालपूर्जा उपलब्ध गराउनुका साथै भूमिसम्बन्धी समस्याको समाधानलाई प्रभावकारीरुपमा अघि बढाउने बताउनुभयो । उहाँले जिल्लामा भूमिसम्बन्धी समस्या समाधानका लागि संघीय सरकारमार्फत् ८ वटा पालिकामा सम्झौता भएर कामसमेत सुरु भइसकेको र बाँकी दुईवटा पालिकामा समेत छिट्टै काम सुरु गरिने बताउनुभयो । जिल्लाको कैलाश र ईन्द्रसरोवर गाउँपालिकाबाहेक स्थानीय तहमा भूमिसम्बन्धी तथ्यांक संकलन भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला अध्यक्ष रानाको अध्यक्षता भएको कार्यक्रममा आयोगका केन्द्रीय सदस्य केशव देवकोटा, आयोगका सदस्यहरु तुलसी रिजाल, प्रतिमा श्रेष्ठ, सदस्यहरु नापी कार्यालय प्रमुख पूर्णहरि सुवेदी, मालपोत कार्यालय प्रमुख रामचन्द्र भण्डारी, सदस्यसचिव जिल्ला समन्वय अधिकारी आनन्दराज पोखरेल, जिसस सदस्य देवराज रिमाललगायतको सहभागिता थियो ।