हेटौंडाः बुधबार अपराह्न २ बजेका लागि बोलाइएको बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । बुधबार बिहानै अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो ।
प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले विशेष कारणले गर्दा अर्को सूचना नभएसम्मका लागि प्रदेशसभाको बैठक स्थगित गर्नु भएको प्रदेशसभाद्वारा जारी सूचनामा जनाइएको छ । बागमती प्रदेशसभाका सचिव कृष्णहरि खड्काद्वारा जारी सूचनामा भनिएको छ– ‘मिति २०७७ फागुन ५ गते बुधबार दिनको २ बजे बस्नेगरी निर्धारण गरिएको प्रदेशसभाको बैठक विशेष कारणले गर्दा माननीय सभामुखज्यूले प्रदेशसभा नियमामवली, २०७४ को निनियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मको लागि स्थगित गर्नु भएकोले माननीय सदस्यज्यूहरुकोे जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
यसअघि पनि माघ १९ गते २ बजेका लागि बोलाइएको बैठक विशेष कारण भन्दै स्थगित गरिएको थियोे । माघ १८ गते राति सूचना जारी गर्दै सभामुख श्रेष्ठले फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गर्नुभएको थियो ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रदेशसभामा पेश गरिएको अविश्वासको प्रस्तावमाथि बुधबारको बैठकबाट छलफल सुरु हुने भनिए पनि प्रदेशसभा बैठक नै स्थगित भएपछि अविश्वास प्रस्तावमाथिको छलफल पनि थप अन्यौलमा परेको छ । गत पुस १० गते नेकपाका प्रचण्ड–माधव समूहका ४५ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेको अविश्वास प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरिएको थियो । माघ ९ गते बसेको प्रदेशसभा बैठकमा उक्त अविश्वास प्रस्ताव टेबुल भएपछि स्थगित प्रदेशसभा बैठक बस्न सकेको छैन ।
प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको करिब एक महिनापछि बुधबार बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएपछि बैठक भन्दै हेटौंडा आइपुगेका प्रदेशसभा सदस्यहरु आक्रोशित भएका छन् । अविश्वासको प्रस्तावमाथि बैठकमा छलफल हुने भनिएकोमा एकाविहानै अचानक संसद स्थगित गर्नु निन्दनीय विषय भएको सांसद प्रतिमा श्रेष्ठको भनाई छ ।
सभामुख दोहोरो दवावमा
बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ नेकपाकै ओली समूह र प्रचण्ड–माधव समूहको दोहोरो दवावमा पर्नुभएको छ । सरकार सञ्चालन गरिरहेको ओली पक्षले प्रदेशसभा बैठक नराख्न सभामुखलाई दवाव दिइरहँदा अविश्वास प्रस्तावका हस्ताक्षरकर्ताहरु प्रचण्ड–माधव पक्षले भने प्रदेशसभा बैठक सुचारु गर्न दवाव दिएका थिए ।
मंगलबार दिनभर सञ्चारकर्मीबाट टाढा रहन खोजिरहनुभएका सभामुख श्रेष्ठलाई मंगलबार दिउँसो नेकपाको प्रचण्ड–माधव समूहले भेटेर संसद बैठकमा अविश्वासको प्रस्ताव ल्याउन दवाव दिएका थिए ।
अविश्वास प्रस्तावको पक्षधर आक्रोशित
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव टार्न सत्तारुढ पक्षले लगातार संसद स्थगित गरेपछि अविश्वासको प्रस्तावका पक्षधर नेकपा प्रचण्ड–माधव समूहका प्रदेशसभा सदस्यहरु आक्रोशित बनेका छन् । नेकपा प्रचण्ड–माधव समूहको संसदीय दलको नेता तथा प्रस्तावित मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावको बारेमा सांसदले बोल्नै नपाउने अवस्था बनेकोमा आक्रोश व्यक्त गर्नुभएकोा हो ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दल र सभामुखबीच मंगलबार भएको सहमतिविपरीत एक्कासी प्रदेशसभा बैठक स्थगितको सूचना टाँसिएपछि आपत्ति जनाउँदै शाक्यले प्रदेशसभालाई अनिर्णयको बन्दी बनाइएको बताउनुभयो । संघको समस्यालाई देखाएर प्रदेशलाई बेकामे बनाउन नहुने भन्दै प्रदेश माथिबाट प्रभावित भइरहेकोमा नेता शाक्यले असन्तुष्टि जनाउनुभएको छ ।
उपसभामुखलाई विरोधपत्र
बुधबारका लागि बस्ने भनिएको प्रदेशसभा बैठक स्थगित भएपछि प्रदेशसभा सुचारु गराउन उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाइएको छ । मुख्यमन्त्री डोरमणि पौडेलमाथिको अविश्वासको प्रस्ताव दर्ता भएको दुई महिना हुन लाग्दासमेत यसलाई निस्कर्षमा पुर्याउन सभामुख श्रेष्ठले चासो नदिएको भन्दै उपसभामुखलाई विरोधपत्र बुझाइएको हो । उपसभामुख तामाङले विरोधपत्र प्रदेशसभा सचिव कृष्णहरि खड्कालाई हस्तान्तरण गर्नुभएकी थिइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यद्वारा हस्ताक्षर गरिएको विरोधपत्रमा सभाामुखलाई बुधबार जारी सूचनालाई सच्याई अविलम्ब प्रदेशसभा बैठक बोलाई अविश्वासको प्रस्तावलाई छिटो भन्दा छिटो टुंग्याउन आह्वान गरिएको छ । अविश्वासको प्रस्ताव दर्ता गराएका सांसदहरुले निरन्तर आन्दोलन गरेर सभामुखलाई प्रदेशसभा सञ्चालनका लागि बाध्य पार्ने सांसद प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो ।
कांग्रेसको ध्यानाकर्षण
बागमती प्रदेशसभा बैठक अचानक स्थगित गरिएको प्रति नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार बस्ने भनिएको प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित गरेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा जनाइएको हो ।
राजनीतिक सहमतिका लागि अविश्वासको प्रस्ताव दर्ता गराउने पक्ष, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सत्तापक्षसँग मंगलबार प्रदेशसभा सचिवालयमा भएको छलफलमा प्रदेशसभा सञ्चालन गर्ने सहमति भएकोमा यसविपरित बिहान सूचना टाँसेर प्रदेशसभा स्थगित गरेकोमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको असहमति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।