पदमुक्त गरिएपछि पुस १९ गते आइतबार पत्रकार सम्मेलनमा बोल्नुहुँदै मनिला विष्ट । फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टको राजीनामा प्रकरणमा उच्च अदालत पाटन हेटौंडा इजलासले उत्प्रेषण र परमादेश जारी गरेको छ । बुधबार न्यायाधीशद्वय चण्डीराज ढकाल र मोहम्मद साविर हुसेनको संयुक्त इजलाशले मनिला विष्टको मागबमोजिम राजीनामा दिएको पुष्टि नहुने भन्दै पदमुक्त नहुने आदेश गर्नुका साथै नियमित काममा फर्कनका लागि माग बमोजिम परमादेश जारी गरिएको छ ।

गत मंसिर २९ उपाध्यक्ष विष्टले राजीनामा दिएको भन्दै पुस १७ गते गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले पालिकामा राजीनामा दर्ता गराउनुभएको थियो । संविधान बमोजिम उपाध्यक्षले अध्यक्षलाई र अध्यक्षले उपाध्यक्षलाई राजीनामा बुझाए पदमुक्त हुने व्यवस्था बमोजिम उपाध्यक्ष विष्ट पदमुक्त भएको अध्यक्ष एकराज उप्रेतीले दावी गर्नुभएको थियो ।

नेपालको संविधान २०७२ को भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१५ को उपधारा ८ (क) मा अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिएमा, (ख) मा निजको पदावधि समाप्त भएमा र (ग) मा निजको मृत्यु भएमा पद रिक्त रहने व्यवस्था गरिएको छ ।