हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश सरकार स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना दिवसको अवसरमा बिहीबार सम्मान तथा पुरस्कार वितरण गर्ने निर्णय गरेको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले जानकारी दिनुभएको छ ।
यस्तै प्रदेश सरकारले प्रदेश यातायात बोर्डको कार्यकारी निर्देशकमा जगदीशचन्द्र ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले चितवन र रामेछाप जिल्लामा एकीकृत माझी वस्ती निर्माण गर्न सम्बन्धित स्थानीय तहसँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेशभित्र रहेका संघीय प्रहरीका इकाईलाई गाडी उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
प्रदेश भित्र भएका नेपाल प्रहरीका विभिन्न इकाईलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले प्रहरीका लागि प्रदेशका विभिन्न प्रहरी कार्यलयलाई १२ वटा गाडी र २२ वटा मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री ढुंगेलले जानकारी दिनुभयो । प्रदेश सरकारले गंगालाल हृदयरोग केन्द्रमार्फत बागमती प्रदेशका नागरिकलाई हृदयघात भए तत्काल उपचार गराउन सम्झौता गर्ने निर्णय समेत गरेको छ ।