हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थित तेनसुराङ आधारभूत विद्यालयलाई ‘सेभेन सेन्सेस ग्रुप’ ले शैक्षिक सामग्री सहयोग गरेको छ । तामाङ तथा बढी चेपाङ समुदायका बालबालिका अध्ययनरत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरिएको हो ।
दीपेश जोशी, बसन्त कप्रौला, गोकर्ण सुवेदी, विज्ञान रिमाल, रमेश काफ्ले, सरोज गहतराज, सुजन ढकाल, रोहित शाही, हरि शर्मा लामिछाने, जीवन ढकाल, लालबहादुर पौडेललगायत युवा व्यवसायीको सहयोगमा मंगलबार विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको हो । विद्यार्थीलाई स्वीटर, टोपी, झोला, कापी, ४ वटा सेतो पाटी बोर्ड विद्यालयका प्रधानाध्यापक रामनारायण ढकाललाई हस्तान्तरण गरेका छन् ।
दुर्गम ठाउँमा अवस्थित अति विपन्न, गरिब तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग पुर्याउने उद्देश्यले करिव एक लाख रुपैयाँ बराबरको शैक्षिक सामग्री सहयोग गरिएको ग्रुपका सदस्य दिपेश जोशीले जानकारी दिनुभएको छ । ‘विद्यालयमा अध्ययनरत विद्यार्थीको पठन सीपलाई विकास गराउने उद्देश्यले कक्षा १ देखि ३ सम्मका लागि ३ सेट पुस्तक र झोला विद्यालयलाई सहयोग गरेका छौं’, जोशीले भन्नुभयो, ‘एउटा सेट झोलामा करिव ५० वटा किताब राख्न सकिने छ ।’ चित्रकला कार्यशालाको आयोजना गरी विद्यार्थीहरुले विभिन्न थरीका चित्रहरु बनाएका थिए ।
विद्यालयको शैक्षिक स्थिति कमजोर भएकोले विभिन्न दातासँग सहयोग माग्दै विद्यालय सञ्चालन गरिरहेको तेनसुराङ विद्यालयका प्रधानाध्यापक रामनारायण ढकालले बताउनुभएको छ । स्थानीय तहले कर्मचारीलाई तलबमात्र वितरण गर्ने तर शैक्षिक सामग्रीमा कुनै सहयोग नगरेमा उहाँले गुनासो गर्नुभयो । कक्षा १ देखि ३ सम्म अध्यापन हुने विद्यालयमा ६३ जना विद्यार्थी अध्ययनरत छन् ।