बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः हिमाल, पहाड र तराईका छोरीबेटी तथा महिला अधिकारकर्मीहरुको एकताका लागि हेटौंडामा तेस्रो बेटी सम्मेलन सुरु भएको छ । ‘आसनमा महिला, भाषणमा महिला र शासनमा महिला’ भन्ने मूल नाराका साथ तीन दिवसीय बेटी सम्मेलन सुरु भएको हो ।

मुलधार महिला सेवा केन्द्रको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबका दिनमा महिलाहरुले आरक्षणभन्दा सक्षम भएर प्रतिस्पर्धालाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले महिलाहरुलाई आफ्नो परिवारमा मात्र सिमित नभएर उत्पादन प्रक्रियासँग जोडिन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले महिलालाई अपमान गर्ने भनेको आफूले आफैंलाई अपमान गर्नु हो भन्दै महिलालाई अपमान गर्ने व्यक्ति स्वयम कमजोर हुने बताउनुभयो । उहाँले महिला शक्तिको प्रतीक रहेकाले महिलाका अधिकारका पक्षमा आफू निरन्तर लागिरहेको बताउनुभयो । एसिड पीडित महिलालाई शैक्षिक योग्यताको आधारमा बागमती प्रदेश सरकारले रोजगारीको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्मेलन मूल आयोजक कमिटी संयोजक नजबुल खानको सभाध्यक्षता रहेको कार्यक्रममा पूर्व राज्यमन्त्री करिमा बेगम, काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मीनाकुमारी लामा, एसिड आक्रमणबाट पीडित भएका मुस्कान खातुन र बिन्दवासिनी कंशाकारलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

देशका सातै प्रदेशमा सम्मेलन गर्ने अभियानअन्तर्गत् बागमती प्रदेशको राजधानी हेटौंडामा तेस्रो बेटी सम्मेलन गरिएको हो । यसअघि प्रदेश १ को उदयपुर तथा प्रदेश २ को जनकपुरमा पहिलो र दोस्रो बेटी सम्मेलन सम्पन्न भइसकेको छ । समाजमा हुने महिला हिंसालगायत विभिन्न कुप्रथा र लैंगिक हिंसाविरुद्ध सम्मेलन आयोजना गरिएको आयोजक कमिटीका संयोजक खानले जानकारी दिनुभयो ।

सम्मेलनमा देशका विभिन्न क्षेत्रबाट करिब एक सयजनाको प्रतिनिधिमूलक सहभागिता रहेको बताइएको छ । महिला अधिकारकर्मीबीच भावनात्मक सम्बन्ध कायम गर्ने, राष्ट्रिय बहसको माध्यमद्वारा महिला हिंसालगायत विभिन्न विकृतिजन्य कार्यको अन्त्य र समाधानको खोजी गर्ने, छात्राहरुलाई शिक्षाको मूलधारमा ल्याउने, आत्मविश्वास बढाउने र सचेतीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।