हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका केही विद्यालयहरुले शैक्षिक व्यवस्थापन सूचना प्रणाली (ईएमआईएस) बुझाउन अलमल गरिरहेका छन् । उपमहानगरपालिका क्षेत्रका ३ वटा सामुदायिक र ४ वटा निजी विद्यालयले हालसम्म पनि ईएमआईएस नबुझाएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले जानकारी दिनुभएको छ ।

सबै सामुदायिक तथा निजी विद्यालयहरुले निर्धारित ढाँचामा विद्यालयका विद्यार्थी, शिक्षक विवरण तथा अन्य आवश्यक जानकारी समावेश गरेर कम्प्युटरमार्फत् ईएमआईएस फारम भरेर अनलाइन अपडेट गर्नुपर्ने म्याद समाप्त भइसक्दा पनि ७ वटा विद्यालयले अलमल गरिरहेको बताइएको छ । ईएमआईएस नबुझाउने विद्यालयहरुले उपमहानगरपालिकाबाट पाउनुपर्ने सुविधाबाट वञ्चित गरिने शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत सुनिता महर्जनले जानकारी दिनुभएको छ ।

हेटौंडा उपमहानगर क्षेत्रमा कक्षा १२ सम्म पढाई हुनेको १४ वटा, कक्षा १० सम्म पढाई हुने १५ वटा, कक्षा ८ सम्म पढाई हुने २० वटा र कक्षा कक्षा ३ सम्म पढाई हुने ६ वटा गरी ५५ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा रहेको छ । यसैगरी कक्षा १२ सम्म सञ्चालनमा रहेका २ वटा, कक्षा १० सम्म सञ्चालनमा रहेका ३५ वटा, कक्षा ८ सम्म सञ्चालनमा रहेका २ वटा, कक्षा ६ सम्म सञ्चालनमा रहेका २ वटा, कक्षा ४ सम्म सञ्चालित एउटा र शिशु कक्षामात्र सञ्चालनमा रहेका ५ वटा गरी ४७ वटा निजी विद्यालयहरु छन् ।