शनिबार उद्घाटन गरिएको कभर्डहल ।

हेटौंडाः बक्सिङ खेलका पूर्व अन्तर्राष्ट्रिय खेलाडी सुशील घिमिरेको पहलमा हेटौंडा–५, पिप्लेमा कभर्ड हल निर्माण सम्पन्न भएको छ । ४६ लाख ७७ हजार रुपैयाँ लागतमा हेटौंडा–५, पिप्लेस्थित बालज्योति मावि परिसरमा बहुउपयोगी कभर्डहल निर्माण सम्पन्न भएको हो । कोभिड–१९ को संक्रमणको जोखिमका कारण लकडाउनको समयमा समेत निर्माण कार्यलाई निरन्तरता दिएर एक वर्षको अवधिमा कभर्ड हल निर्माण भएको हो ।

कभर्ड हल निर्माणसँगै खेलकुदका गतिविधि आयोजना गर्न आवश्यक आर्थिक स्रोतको समेत व्यवस्थापन गर्न घिमिरेले व्यक्तिगत रुपमा १० लाख रुपैयाँ रकम सहयोग गरी क्लबको अक्षयकोष स्थापना गर्नुभएको छ । घिमिरेले रोजगारीको सिलसिलामा मकाउमा रहनुहुँदा फुर्सदको समयमा कपाल काटेर गर्नुभएको आम्दानीलाई अक्षयकोष स्थापना गर्न सहयोग गर्नुभएको जानकारी दिनुभएको छ । घिमिरेले सुरुवात गर्नुभएको अक्षयकोषमा हेटौंडा उपमहानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले घोषणा गर्नुभएको छ ।

स्थानीय सरकार, स्थानीय समुदाय र मकवानपुर जिल्लाका व्यवसायी, सहयोगीको नगद तथा जिन्सी सहयोगमा पिप्ले युवा क्लबका अध्यक्ष समेत रहनुभएका घिमिरेको अग्रसरतामा कभर्ड हल निर्माण सम्पन्न भएको हो । कभर्ड हल निर्माणका लागि २५ लाख ५६ हजार रुपैयाँ नगद तथा ३४ लाख एक हजार रुपैयाँ जिन्सीसहित ५९ लाख ५७ हजार रुपैयाँ सहयोग प्राप्त भएको पिप्ले युवा क्लबका कोषाध्यक्ष सुदीप सापकोटाले जानकारी दिनुभयो । संकलित रकम मध्ये ४६ लाख ७७ हजार रुपैयाँ खर्च भएर १२ लाख ७९ हजार रुपैयाँ बचत भएको पनि कोषाध्यक्ष सापकोटाले बताउनुभएको छ ।

पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहनुभएका घिमिरेले कभर्ड हल निर्माण गर्न सुरु गरेसँगै देश, विदेशमा रहेका मकवानपुरवासीले हरेक दिन सहयोग गरेका थिए भने अगुवा सुशील घिमिरेसहित क्लबका पदाधिकारी र सदस्य हरेक दिन श्रमदानमा सक्रिय थिए । सुशीलको सक्रियताकै कारण वडा अध्यक्ष राजेश बानियाँले सुरुवातमै व्यक्तिगत रुपमा एकलाख रुपैयाँ सहयोग गर्नुभएको थियो भने सजिलो, गाह्रो हरेक समय सहयोगका लागि तयार रहनुभएको थियो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शनिबार कभर्ड हलको उद्घाटन गर्दै गर्नुहुँदा बालज्योति माविका प्रधानाध्यापक भरत अर्यालले विद्यालय परिसरमै कभर्ड हल निर्माण हुँदा विद्यार्थीका लागि अतिरिक्त क्रियाकलाप गराउन सहज हुने र विद्यार्थीको शारीरिक एवम् वौद्धिक विकासमा सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । कभर्ड हल उद्घाटन गर्नुहुँदै हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पिप्ले युवा क्लबको अग्रसरतामा क्याम्पाचौरमा रंगशाला निर्माणको अभियान सुरु भएकोमा खुसी व्यक्त गर्नुभयो ।

मेयर महतले क्याम्पा रंगशालाका लागि उपमहानगरपालिकाबाट २० लाख रुपैयाँ सहयोगको घोषणा समेत गर्नुभएको छ । कभर्ड हल उद्घाटन समारोहमा नेपाल बक्सिङ संघका राष्ट्रिय अध्यक्ष राम अवालेले बक्सिङ खेल सामग्री हस्तान्तरण गर्नुभएको छ । कभर्ड हल उद्घाटनकै अवसरमा पिप्ले युवा क्लबको गीत समेत सार्वजनिक गरिएको छ ।