हेटौंडाः नेपाली कांग्रेस मकवानपुरको भातृ एवम् शुभेच्छुक संगठनहरुले शनिबार हेटौंडामा सरकारको असंवैधानिक कदम विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । शुक्रबार कांग्रेस पार्टी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले शनिबार मध्यान्ह १२ बजे पार्टी कार्यालयबाट जुलुस निकालेर बुद्धचोकसम्म पुगी विरोध सभाको आयोजना हुने बताउनुभयो ।
विरोध सभामा मकवानपुरका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कांग्रेसको केन्द्रीय सर्कुरल अनुसार घोषित कार्यक्रमहरु हुन गइरहेको उहाँले बताउनुभयो । यस्तै फागुन ३ गते ७७ जिल्लामै नेपाली कांग्रेस जिल्ला कार्यसमितिको नेतृत्वमा एकसाथ प्रदर्शन गर्ने जानकारी गराउँदै मकवानपुरमा त्यसको पनि तयारी भइरहेको प्रवक्ता कोइरालाले बताउनुभयो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारीको सभाध्यक्षामा पत्रकार सम्मेलन भएको थियो ।