हेटौंडाः दर्शक न्यून भएपछि हेटौंडामा रहेका दुईवटै फिल्म हल बन्द भएका छन् । कोरोना भाइरस संक्रमणको जोखिमका कारण गरिएको लकडाउनसँगै बन्द भएका फिल्म हलहरु माघ १ गतेदेखि सञ्चालनमा आएका थिए । हल सञ्चालनमा आए पनि दर्शकको उपस्थिति अत्यन्तै न्यून भएपछि हल बन्द गरिएका हुन् ।

हेटौंडाको नारायणी मलमा रहेको एनएस सिनेमा र हुप्रचौरमा रहेको ओम्याक्स सिनेमाले ९ महिनापछि गत माघ १ गतेबाट ‘एउटा यस्तो प्रेम कहानी’ नामक नेपाली फिल्म प्रदर्शन गरेका थिए । फिल्म हेल्न हलमा दर्शकको उपस्थिति न्यून भएपछि यो फिल्म एक साता पनि चल्न सकेन । एनएस सिनेमामा प्रदर्शन गरिएको साउथ इन्डियन फिल्म ‘मास्टर’ हेर्ने दर्शक पनि शून्यजस्तै भएपछि बाध्य भएर हल बन्द गर्नुपरेको एनएस सिनेमाका अपरेटर किशोर पौडेलले जानकारी दिनुभयो ।

सरकारले हल खोल्ने अनुमति दिएसँगै सुरक्षा मापदण्ड अपनाएर हल सञ्चालनमा ल्याएको भए पनि दर्शक नभएपछि हल बन्द गर्नुपरेको अपरेटर पौडेलले बताउनुभयो । एनएस सिनेमामा शुक्रबारबाट अंग्रेजी डबिङ रहेको चाइनिज फिल्म प्रदर्शनमा आउने सिनेमा हलका अपरेटर पौडेलले जानकारी दिनुभयो । तर, १० जनाभन्दा बढी दर्शकको उपस्थिति भएमा मात्र फिल्म प्रदर्शन गरिने उहाँले जानकारी दिनुभयो ।

कोरोना भाइरस संक्रमणको त्रास अझै कायम रहेको र इन्टरनेटमार्फत् युट्युब तथा अन्य चलचित्र प्रसारण गर्ने एप्स एवम् च्यानलहरुले नयाँ–नयाँ चलचित्र रिलिज गर्न थालेपछि हलमा दर्शकको उपस्थिति निराशाजनक देखिएको हो । दर्शकको उपस्थिति नभएकै कारण हल सञ्चालन नभएको बताउँदै ओम्याक्स सिनेमाका लेखापाल दिनेश तिमल्सिनाले दर्शकको उपस्थिति राम्रो भएमा तत्काल हलमा फिल्म चलाइने जानकारी दिनुभयो ।