हेटौंडाः अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) ले बुधबार ओसीएमसीबाट सेवा लिएका हिंसा पीडित महिलाहरुको समस्याका विषयमा अन्तरक्रिया गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा ओसीएमसीले अन्तरक्रियाको आयोजना गरेको हो । हिंसा पीडित महिलाहरुका समस्या र उनीहरुको समस्यामा कसरी सहयोग गर्न सकिन्छ भनेर अन्तरक्रिया गर्न हेटौंडा उपमहानगरपालिकाले ओसीएमसीलाई आग्रह गरेको हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामाको भनाइ छ । अन्तरक्रियामा सहभागी हिंसा पीडित महिलाले आफ्ना दुःख व्यक्त गर्दै जीविका र बालबालिकालाई पढाउन नसकिएको भन्दै बिलौना गरेका छन् । मादक पदार्थ र लागूऔषध सेवन गर्ने श्रीमान्बाट हिंसामा परेपछि बालबालिकासहित घर छाड्न बाध्य भएका महिलाहरु जीविका र बालबालिकालाई पढाउन नसकिएको भन्दै बिलौना गरेका छन् । राक्सिराङ गाउँपालिका–९ घर भएकी महिला अहिले हेटौंडा–१४ मा बस्दै आउनुभएको छ । उहाँ आफ्ना तीन जना बच्चाको पालनपोषण गर्ने र उनीहरुलाई कसरी पढाउने होला भन्ने चिन्ताले बिह्वल हुनुभयो ।
आयआर्जनका लागि बाख्रा पालिरहनुभएकी महिलाले जीविका र बालबालिकाको भविष्यलाई लिएर चिन्तामा रहेको बताउनुभयो । भीमफेदी गाउँपालिका–३ की महिला श्रीमान्ले लागूऔषध गाँजा र मदिरा सेवन गरेर आफूमाथि हिंसा गरेपछि हेटौंडा–६, चौघडास्थित माइतीमा हुनुहुन्छ । दुई छोरी र आफ्नो जीविका कसरी चलाउने भन्ने चिन्ताले सताइरहेको ती महिलाको भनाइ छ । हेटौंडा–१४ की एक महिला श्रीमान्ले अर्की लिएर हिडेपछि आफ्नो बिचल्ली भएको गुनासो गर्नुहुन्छ । बच्चालाई पढाउन नपाएकोमा ती महिला निक्कै भावुक बन्नुभयो । मनहरी–१ की महिला ४ सन्तानलाई कसरी स्याहार्ने भन्ने चिन्तामा हुनुहुन्छ । हिंसा पीडित भनिएकाहरु सबै श्रीमान्बाटै पीडित भएको सुनेपछि मनहरी–१, गोगनपानीकी एकल महिलाले श्रीमान् नभएकोमा खुसी व्यक्त गर्नुभयो । सबैलाई श्रीमान्ले नै दुःख दिएको भन्ने सुनेर आफ्नो श्रीमान् नभएकोमा आनन्द लागेको ती महिलाले बताउनुभयो ।
हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीनाकुमारी लामाले हिंसापीडित हिंसापीडित महिलाहरुलाई आयआर्जनका लागि के कसरी सहयोग गर्न सकिन्छ भनेर अन्तरक्रिया गर्नुभयो । ओसीएमसीबाट सेवा लिएका हिंसापीडित महिलाहरुलाई उपमहानगरपालिकाले सहयोग गर्दै आएको र थप के कस्ता सहयोगको अपेक्षा रहेको छ भनी बुझ्नका लागि उपमेयर लामाले अन्तरक्रिया उपयोगी भएको बताउनुभयो । हेटौंडा उपमहानगर क्षेत्रका हिंसा पीडित महिलालाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा उपमहानगरले योजना बनाएको उहाँले बताउनुभयो ।