हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरका सचिव एवम् बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले संविधान सिध्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणा गर्नु बेमौसमी बाजा भएको टिप्पणी गर्नुभएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–६ मा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै प्रचण्ड–माधव समूह नेतृत्वको नेकपाका नेता छिन्तुले हुँदाछँदाको प्रतिनिधीसभा विघटन गर्न संविधान च्यात्ने काम प्रधानमन्त्री ओलीबाट भएको बताउनुभयो । उहाँले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनाव बेमौसमी बाजा बाहेक केही नभएको तर्क गर्नुभयो । ‘पार्टीका नियम नीति नमानी मनपरी ढंगबाट चल्न नपाएको झोँकमा संविधान विपरित प्रतिनिधी सभा विघटन गर्ने ओलीले घोषणा गरेको चुनाव असंवैधानिक हुन्छ’, नेता पुलामीले भन्नुभयो, ‘पहिले ओलीले भत्काएको संविधानलाई सही ट्रयाकमा ल्याउनुपर्छ । हुनै नसक्ने चुनावी बाजा बजाउने समय यो होइन ।’
ओलीका कारण नेपालमा कम्युनिष्टलाई हेर्ने जनताको नजर फरक हुनसक्ने भएकाले आफूहरु जनताको साथमा रहेको नेता पुलामीको भनाइ छ । ओलीले गरेको असंवैधानिक कदमलाई कहीँ कतैबाट पनि साथ दिन नहुने उहाँको भनाइ छ । प्रचण्ड–माधव पक्षीय नेकपाका बागमती ६ का अध्यक्ष छेवाङ लामाको अध्यक्षतामा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा बागमती प्रदेश कमिटी सदस्य एवम् बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, पार्टी मकवानपुर जिल्ला कार्यालय सदस्यहरु बद्रीप्रसाद लम्साल, प्रमिला पुलामी, पार्टी जिल्ला सचिवालय सदस्य ज्ञानसागर लामा, बच्चु खड्का, आमन्त्रित जिल्ला सदस्य मंगल रखाल, पार्टी गाउँपालिका अध्यक्ष अरुण बल, निर्वाचित वडा अध्यक्ष ध्रुव थापा लगायतको आतिथ्य थियो ।
वडास्तरीय अगुवा कार्यकर्ता भेलामा पार्टी प्रवेश गर्नेलाई स्वागत गरिएको थियो । देशमा जनताको पक्षमा क्रान्ति गर्ने पार्टी प्रचण्ड–माधव नेतृत्वको नेकपा भएकाले यही पार्टीप्रति आफूलाई भरोसा भएको भन्दै पार्टी प्रवेश गरेको नवप्रवेशीले बताएका छन् ।