हेटौंडाः बकैया गाउँपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि बकैया–३, हात्तिसुडेले जितेको छ । शनिबार भएको फाइनल खेलमा बकैया–४, महेन्द्र माविलाई पराजित गर्दै हात्तिसुडेले उपाधि जितेको हो । उपाधिसहित हात्तिसुडेले नगद १५ हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको महेन्द्र माविले १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
उपाधि विजेता तथा उपविजेतालाई बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले पुरस्कार वितरण गर्नुभयो । भलिबल प्रतियोगिताको समापन कार्यक्रममा बकैया गाउँपालिकाका वडा अध्यक्षहरुको पनि उपस्थिति रहेको थियो । घमनटोल स्पोर्ट्स क्लबले भलिबल प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा बकैया गाउँपालिकाका १५ वटा टिमको सहभागिता रहेको थियो ।