हेटौंडाः बागमती प्रदेश खेलकुद विकास परिषद् र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच बुधबार सम्झौता भएको छ । प्रदेशस्तरीय रेफ्री प्रशिक्षणका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाबीच सम्झौता भएको हो ।
बागमती प्रदेश सरकारले आफ्नो १३ जिल्लामा हुने सम्पूर्ण खेलकुदका गतिविधिहरुमा प्रशिक्षक, रेफ्रीहरु सहजै उपलब्ध गराउन यो सम्झौताले सहयोग पुग्ने प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव भण्डारीले बताउनुभयो । उहाँले प्रदेशमा हुने सबै खेलकुदका गतिविधिहरुमा संघको पनि संलग्नता हुने गरी सम्झौता भएको बताउनुभयो । एन्फाले फुटबल प्रशिक्षक कोर्ष गराउने तथा परिषद्ले क्रिकेटको क्यानसँग र बक्सिङ संघसँगै मिलेर प्रदेशस्तरीय प्रशिक्षण तयारी गर्ने बताउनुभयो ।
बागमती प्रदेशमा फुटबलको प्रशिक्षक ठिकै संख्यामा रहेपनि क्रिकेट र बक्सिङका लागि भने सहजै प्रशिक्षक वा रेफ्रि उपलब्ध नभएको भण्डारीले बताउनुभयो । प्रदेशस्तरीय फुटबल, क्रिकेट र बक्सिङका लागि प्रशिक्षक तथा रेफ्रि कोर्ष गराउने कार्यक्रम अन्तर्गत नै फुटबल खेलका लागि एन्फासँग सम्झौता भएको उहाँको भनाइ छ ।