हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले चितवनमा यातायात व्यवसायीका दलालसँग घुस लिएको आरोपमा ३ जना प्रहरीलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले उनीहरुलाई निलम्बन गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको बागमती प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मीना चौधरीले जानकारी दिनुभएको छ ।

चितवन जिल्लाको नारायणगढ, पुल्चोक भई राजमार्गमा चल्ने बस, मिनिबस, माईक्रोबस व्यवसायीका दलालहरू मार्फत नारायणगढ पुल्चोकमा डिउटीमा खटिएका प्रहरी कर्मचारीहरुले पैसा लिने गरेको भन्ने सूचनाका आधारमा प्रदेश प्रहरीले अनुसन्धान थालेको थियो । प्रदेश प्रहरी कार्यालयको टोलीले मंगलबार डिउटीमा खटिएको अवस्थामा यातायात व्यवसायीका दलालहरू मार्फत भरतपुर महानगरपालिका–१, पुल्चोकस्थित कालीगण्डकी कोल्ड स्टोर (पान पसल) बाट अबैध रकम लिँदै गरेको अवस्थामा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार लोक बहादुर घर्ती, प्रहरी जवान जमुना खड्का र वडा प्रहरी कार्यालय नारायणगढ चितवनमा कार्यरत प्रहरी जवान पूर्ण सिंह रश्मि मगरलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका ३ जनालाई प्रदेश प्रहरी कार्यालय हेटौंडामा झिकाइएकोमा उनीहरुको सम्बन्धमा थप छानविन गर्न हाललाई निलम्बन गरिएको एसएसपी चौधरीले जानकारी दिनुभएको छ । निलम्बित प्रहरी कर्मचारीहरुको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक सुरेश प्रसाद काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ । प्रहरी कर्मचारीसँगै यातायात व्यवसायीका दलाल ५ जनालाई पनि प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीको नाममा पैसा उठाउने कार्यमा संलग्न ५ जना व्यक्तिलाई अभद्र व्यवहार अन्तर्गतको मुद्दामा बुधबार म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डियुटीमा ईमान्दारिता प्रदर्शन गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गर्ने र गैरव्यावसायिक कार्यमा संलग्नलाई कारवाही गरी प्रहरी सेवालाई मर्यादित बनाउने कार्यलाई विशेष अभियानको रुपमा सञ्चालन गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।