हेटौंडाः बागमती प्रदेशको प्रदेशसभाको बैठक आज बुधबार बस्ने भएको छ । बुधबार दिउँसो ३ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान भएको हो । बुधबार बस्ने बैठक थोरै समयमै स्थगित हुने देखिएको छ । भोलि बिहीबार गते काठमाडौंमा प्रेस संगठनको भेला छ भने सोही दिन नेकपाको प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्ने भएका छन् ।
दुबै कार्यक्रमको तयारीमा सांसदहरु लागेकाले एक तिहाईभन्दा कम सांसदहरुको उपस्थिति हुने सम्भावना देखिएको छ । प्रदेशसभाको बैठकमा मुख्यतः अहिले समसामयिक विषयमा र मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावको विषय छलफल हुनेछ । साथै, प्रदेशसभाबाट एउटा विधेयक पारित गर्न बाँकी रहेको छ । अन्य बिजनेस भने केही नभएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
बुधबार बस्ने बैठकमा मुख्यमन्त्रीविरुद्ध परेको अविश्वासको प्रस्तावलाई टुंगोे लगाउन मत विभाजनसम्बन्धी कार्यविधि पारित गर्ने मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिले निर्णय गरेको छ । यस्तै, सातौं अधिवेशनमा विभिन्न मन्त्रालयले विधेयक दर्ता गराउने सम्भावना रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सातौं अधिवेशनमा प्रदेश विश्वविद्यालय सञ्चालनसम्बन्धी विधेयक सभामा पेश गर्ने तयारी गरेको छ ।
प्रदेशसभाको बैठकमै मुख्यमन्त्री डोरमणि पौडेलले पुनः बहुमत सिद्ध गर्ने प्रक्रिया पनि अघि बढाइने भएको छ । नेपाली कांग्रेस संसदीय दलले जता समर्थन गर्यो उही गुट विजयी हुने अवस्था देखिएको छ । तर यतिबेला कांग्रेस बागमती संसदीय दल पनि तटस्थ बसेको छ । नेकपाको दुबै गुटहरुले कांग्रेसलगायत अन्य साना दलहरुसँग पनि वार्ता भइरहेको बताए पनि कांग्रेस यतिबेला मौन बसेको छ ।
मुख्यमन्त्री डोरमणि पौडेललाई आफ्नो सरकार कायम राख्न ५६ मत आवश्यक पर्छ । हाल ३४ मत केपी ओली समूहको रहेको छ । प्रदेशमा ११० प्रदेशसभा सदस्य छन् । जसमा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् ।