फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–११, डाङ्डुङेस्थित आनन्द भैरव आधारभूत विद्यालयमा चालु शैक्षिक सत्रको अर्धवार्षिक परीक्षा चलिरहेको छ । कतिपय विद्यालयमा प्रथम त्रैमासिक परीक्षा चलिरहेका बेला आनन्द भैरवमा भने अर्धवार्षिक परीक्षा नै चलिरहेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नियमित पठनपाठन प्रभावित बनेपनि विद्यालयले चालु शैक्षिकसत्रको प्रथम त्रैमासिक परीक्षा डेढ महिनाअघि नै लिइसकेको विद्यालयका प्रधानाध्यापक कृष्ण खनालले जानकारी दिनुभएको छ । कोरोनाको जोखिमको समय भनिएकै बेला पनि अभिभावक र समुदायसँगको समन्वयमा विद्यालयले नियमित पठनपाठनको प्रयास गरेको थियो । विद्यालयले माघ २ गतेबाट अर्धवार्षिक परीक्षा लिन सुरु गरेको प्रधानाध्यापक खनाल बताउनुहुन्छ ।

विद्यालयले बिहान १० बजे र दिउँसो १ बजे दुई समूहमा ३० पूर्णाङ्कको अर्धवार्षिक परीक्षा २ घण्टा सञ्चालन गरिरहेको छ । प्रथम त्रैमासिक परीक्षामा दुईतिहाई हाराहारीमा विद्यार्थी सहभागी थिए भने अर्धवार्षिक परीक्षामा सबै विद्यार्थी सहभागी छन् । ८ कक्षासम्म पठनपाठन हुने आनन्द भैरव आधारभूत विद्यालयमा दुई सय विद्यार्थी अध्ययनरत छन् ।