हेटौंडाः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज विरोध खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको शत्रुलाई खुशी बनाउन संसद विघटन गरेको भन्दै उनको घमण्ड धेरै दिन नटिक्ने दावी गर्नुभयो । नेकपा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै इन्चार्ज खतिवडाले जनताले रगत बगाएर स्थापित गरिएको संविधानमाथि प्रधानमन्त्री ओलीले छुरा प्रहार गरेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री ओली आफ्नो पार्टीमा नांगो भइसकेको र अब जनतामा पनि नांगो हुँदैछन् भन्दै खतिवडाले भने– ‘ओली अब पनि नसुध्रिए उनको राजनीतिक जीवन नै समाप्त हुने निश्चित छ ।’ अहिले प्रधानमन्त्री ओली भष्मासुरको बाटोमा हिँडेको बताउँदै नेकपा मकवानपुर इन्चार्ज खतिवडाले प्रचन्ड–माधव नेतृत्वको नेकपा नै आधिकारिक पार्टी भएको दाबी गर्नुभयो ।

भेलामा नेकपा मकवानपुर पार्टी कार्यालय सदस्य श्रीधर पोखरेल, जिल्ला सचिवालय सदस्य एवम् पार्टी जिल्ला संगठन विभाग सह–संयोजक कमानसिं पाख्रिन (पृथक), पार्टी जिल्ला सचिवालय सदस्य एवम् नगर सहइन्चार्ज विवेक राई, जिल्ला सदस्य निबन्ध लामा, पूर्णबहादुर वाइवा, उत्तम न्यौपाने, विज्ञान लामा, रुपेश बर्तौला, पार्टीका हेटौंडा नगर अध्यक्ष रघु आचार्य, हेटौंडा १८ का अध्यक्ष नरनाथ सुवेदी लगायतको आतिथ्यता रहेको थियो । नेकपा हेटौंडा १९ नम्बर वडा अध्यक्ष लोक लामा मुक्तानको अध्यक्षतामा भएको भेलामा देवी सिं घलानको नेतृत्वमा नेपाली कांग्रेसका २५ जनासहित ६५ जना नेकपामा प्रवेश गरेका छन् ।