अन्तरक्रियामा श्रमिकसम्बन्धी व्यवस्थाबारे जानकारी गराइँदै । तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार ।

कतारः रोजगारीका लागि कतार आएका नेपाली श्रमिकहरुसँग दूतावासले श्रमिक सुरक्षा एवम् सचेतनामूलक अन्तक्रिया गरेको छ । नेपाली राजदूतावास दोहा कतारको भवनमा आयोजना भएको अन्तरक्रियामा श्रमिकहरुको हकहित र सुरक्षाबारे छलफल भएको हो ।

कतारको दोहास्थित अल डल्ला कन्ट्रयाक्टिङ कम्पनीमा कार्यरत ३० जना नेपाली महिला श्रमिकसँग श्रमिक सुरक्षाबारे छलफल गरिएको थियो । वैदेशिक रोजगारीका सिलसिलामा कतार आउनु अघि र आए पश्चात यहाँको कानुन अनुसार गर्न हुने र गर्न नहुने कामहरुको बारेमा दूतावासले श्रमिक महिलाहरुलाई जानकारी दिएको थियो ।

अन्तरक्रियामा सहभागी कतारमा कार्यरत महिलाहरु । तस्विर सौजन्यः नेपाली राजदूतावास दोहा कतार ।

कार्यक्रममा कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्वाजले विभिन्न पेशा, व्यवसायमा आवद्ध भएर कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूले स्थानीय संस्कृति, धर्म र प्रचलित कानूनमा रहेर काम गर्न आग्रह गर्नुभएको थियो । उहाँले कतारमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई कतार सरकारले कोभिड–१९ को संक्रमण रोक्न कतार सरकारद्वारा अवलम्बन गरिएका सुरक्षा र सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ । उहाँले सबैले थप सजग र सुरक्षित हुनुपर्ने विषयलाई समेत जोड दिनुभएको छ ।

राजदूतावासले जारी गर्ने राहदानी र ट्राभल डकुमेन्ट लगायत कन्सुलर सेवाका बारेमा समेत श्रमिकहरुलाई जानकारी दिइएको थियो भने दूतावासले यस विषयमा सहभागीहरूले उठान गरेका विविध प्रश्नहरूको जवाफ दिएको थियो । सचेतना कार्यक्रमको उद्देश्यबारे द्वितीय सचिव भुवन भट्ट, श्रमसँग सम्बन्धित विषयमा श्रम काउन्सेलर कृष्णप्रसाद खनाल, राहदानी तथा ट्राभल डकुमेन्ट सम्बन्धी सेवाका बारेमा द्वितीय सचिव ऋचा भट्टराईले श्रमिक महिलाहरुलाई जानकारी दिनुभएको थियो ।

द्वितीय सचिव प्रवीण भट्टराईले संचालन गरेको कार्यक्रममा सहभागीहरुले उठाएका जिज्ञासाहरूको नियोग उपप्रमुख लक्ष्मण खनालले जवाफ दिनुभएको थियो । कार्यक्रममा राजदूतावासका कूटनीतिक र स्थानीय कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । हाल कतारमा करिब ३ लाख ५१ हजार नेपालीहरु कार्यरत छन् ।